आँचल-उदिपको विवाह फागुन २९ मा

नायिका आँचल शर्माले आफ्ना प्रेमी उदिप श्रेष्ठसँग फागुनमा बिहे गर्ने चर्चा त केही समयदेखि नै चल्दै आएको थियो ।

आँचलले उदिपलाई शुरुमा साथीभन्दा माथिको सम्बन्धमा भएको बताए पनि पछिल्लो समय भने उदिपसँग खुल्दै आएकी थिइन् ।

यो जोडीले फागुनमा बिहे गर्ने खबर बाहिर आएको थियो । फागुनमै बिहे हुने भए पनि कुन दिन बिहे गर्ने भन्नेबारे धेरैलाई थाहा थिएन ।

यसैबीच खबर आएको छ कि, आँचलले अब फागुन २९ गते बिहे गर्दैछिन् । स्रोतका अनुसार आँचल र उदिपको बिहेका लागि परिवारले पनि तयार थालेको छ ।

‘नाइँ नभन्नू ल ४’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी आँचलको मोडल तथा अभिनेता पल शाहसँग प्रेमसम्बन्धमा रहेको चर्चा चल्ने गर्थ्यो । तर आँचल र पलले भने आफूहरु प्रेममा रहेको कहिल्यै स्वीकारेका थिएनन् ।

यता आँचलले उदिपसँग एक वर्ष लामो प्रेमसम्बन्ध गाँसेपछि बिहे गर्न लागेकी हुन् ।