शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा बुधबार सम्पन्न खेलमा दुवै टोलीले ३–३ गोल गर्दै बराबरी खेलेका हुन् ।
खेलको पहिलो हाफ सकिँदा १० खेलाडीमा सीमित जावलाखेलविरुद्ध शेर्पाले ३–१ को अग्रता बनाएको थियो तर खेलको दोस्रो हाफमा जाउलाखेलले दुई गोल थप्दै खेललाई तीन–तीन गोलको बराबरीको स्थितिमा टुङ्गाएको हो ।
शेर्पाको लागि समिर , विजय श्रेष्ठ र स्टेफेनले १/१ गोल गरेका थिए भने जावलाखेलका लागि कुबेर बिष्ट,फोडे फोफाना र रुपबहादुर लामाले एक गोल गरेका थिए ।
बराबरीसँगै १२ खेलमा १९ अङ्क जोडेको जावलाखेल लिगको पाँचौँ स्थानमा रहेको छ । त्यस्तै समान खेल खेलेको हिमालयन शेर्पा ११ अङ्कसहित ११औँ स्थानमा रहेको छ ।




