छुटेको सामान फिर्ता गर्ने चालकलाई सुनको सिक्री

ट्याक्सीमा छुटेको महत्वपुर्ण सामान र गरगहना फिर्ता गर्ने चालकलाई सामान धनीले सुनको सिक्री उपहार दिएका छन्।

बा २ ज ४०७१ नम्बरको भाडा कार चालक नविन सिग्देललाई सुन्धराकी लक्की रिजालले सुनको सिक्री दिएकी हुन्।

रिजाल सोमबार लाजिम्पाटदेखि थापाथलि नर्भिक अस्पतालसम्म जाँदा कारमा अन्दाजी १३ तोला बराबरको सुनको गरगहना, ल्यापटप, महत्वपुर्ण मेडिकलको कागजपत्रहरु र लत्ता कपडा सहितको लगेज व्याग छुटेको थियो । उनले ट्याक्सी नम्बर याद नभएपछि ट्राफिक प्रहरी महाशाखामा पुगेर आफ्नो लगेज ट्याक्सीमा छुटेको भन्दै निवेदन दिइन् ।

उक्ता चालक सिग्देलले ट्राफिक हट लाईन १०३ मा जानकारी गराई खोजतलास शाखामा सामान बुझाएका थिए।

ट्राफिक प्रहरी महाशाखाले फेला परेको सामान सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने क्रममा प्रोत्साहन स्वरुप चालकलाई सुनको सिक्री उपहार दिइएको जनाएको छ ।