शहिद स्मारक ए डिभिजन लिगकोमा च्यासल युथ क्लबसँग सरस्वती युथ क्लब पराजित भएसगैँ १ खेलअगावै रेलिगेसनमा परेको छ ।
एन्फा मैदानमा सोमबार भएको खेलमा च्यासल युथ क्लबसँग २–१ ले पराजित भएपछि लिगमा लगातार खराब प्रदर्शन गरेको सरस्वती युथ क्लब यो वर्ष रेलिगेसनमा परेको हो ।
लिगको १२ चरणका खेल सकिँदा सरस्वतीले १ खेलमा मात्र जित निकाल्दा १ मा बराबरी र १० खेलमा हार व्यहोरेको छ। अन्तिम चरणको एक खेल जिते पनि सरस्वतीले अंक तालिकामा ७ अंक मात्र बनाउनेछ। सो खेल जिते पनि सरस्वती माथि नउक्लिने पक्का भएपछि रेलिगेसनमा परेको हो ।
सरस्वती गत संस्करणको लिगमा नवौँ स्थानमा रहेको थियो। गत वर्ष ४ मा जित, २ मा बराबरी र ७ मा हार भोग्दै १४ अंक जोडेको थियो। गत संस्करण रेलिगेसनविनाको लिग आयोजना गरेको अखिल नेपाल फुटबल संघ एन्फाले यो संस्करण पुछारमा रहने टोलीलाई घटुवा गर्ने जनाएको थियो।
सरस्वती रेलिगेसनमा परेपछि सशस्त्र प्रहरी बलको एपिएफ क्लब भने जोगिएको छ। अंक तालिकको पुछारबाट दोस्रो स्थानमा रहेको एपिएफले अन्तिम खेलअघि ८ अंक जोडेको छ। अब अन्तिम चरणमा एपिएफले हार बेहोरे पनि केहि फरक पर्ने छैन। किनकी सिजनमा एन्फाले पुछारको टिमलाई मात्र रेलिगेसन गर्ने व्यवस्था गरेको छ।
च्यासलको जितमा जापानी खेलाडी ताइजा नाकामुरा र हयातो वाकिनोले गोल गरे भने सरस्वतीका कजिम बुसारीले १ गोल फर्काएका थिए । जिसँगै च्यासल १५ अंकमा तालिकाको नवौँ स्थानमा छ ।




