सुकुमलाई पण्डित आनन्दमणि पुरस्कार

साहित्यकार सुकुम शर्मा पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्य पुरस्कारबाट सम्मानित भएका छन् ।

पूर्वमन्त्री त्रिलोचन ढकाल र उनको परिवारले मातापिताको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । आँधीखोला ६ मा उनीहरुले स्थापना गरेको पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले शनिबार कार्यक्रम गरी डा. शर्मालाई सम्मान गरेको हो ।

साहित्यको क्षेत्रमा शर्माले पु¥याएको योगदानको कदर गर्दै आँधीखोला ६ मा पण्डितकै निवासमा डा. शर्मालाई नगद २० हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट २०६७ मा नेपाली साहित्यमा विद्यावारिधि गरेका डा. शर्माका अमिला अणु (कविता संग्रह २०४८), लहराका फूलहरु (हाइकु संग्रह २०५६) आगोका यात्रा (गद्य खण्ड काव्य २०५७), संघर्षशील युवाको डायरी (उपन्यास २०५७), अनवरत यात्रा (उपन्यास २०५८), लाले र लिलीको कथा (बाल उपन्यास २०६१) लगायतका १८ कृति प्रकाशित छन् ।

डा. शर्माले नेपाली व्याकरणको ऐतिहासिक इतिहास (शोधग्रन्थ २०७०), आँधीखोला क्षेत्रमा प्रचलित उखानको अध्यन (शोधग्रन्थ २०६२), पारिजातका कविताको अध्ययन (शोधग्रन्थ २०६२), नेपाली व्याकरणको इतिहास लगायत १३ वटा अनुसन्धनात्क तथा कृति प्रकाशन गरेका छन् भने ६ वटा विभिन्न साहित्यिक प्रकाशनमा सम्पादन गरेका छन् ।

डा. शर्मा हाल विश्व विद्यालय क्याम्पस नेपाली केन्द्रीय विभागमा सहायक डिन छन् ।
पुतलीबजार नगरपालिका ४ मा जन्मस्थान भएका डा. शर्माले उत्कृष्ट निबन्ध पुरस्कार, नेपाल विद्याभूषण क, पारिजात बाल साहित्य पाण्डुलिपि पुरस्कारसहित ६ वटा पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

साहित्य सम्मान, कविता प्रतियााोगिता तथा कविता गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्य १ कला भएको बताए ।

स्याङ्जाको हरेक ठाउँ सिर्जनाको खानी भएको बताउँदै उप्रेतीले पछिल्लो समयमा स्याङ्जाली युवाले देखाएको लगनशीलताबाट प्रतिष्ठानको ध्यान खिच्न सफल भएको बताए । स्याङ्जाली भूमिमा हुने हरेक वाङ्मय गतिविधिमा नेपाल प्रज्ञा प्रतिष्ठाको साथ, सहयोग र समर्पण रहने उप्रेतीले बताए ।

कार्यक्रममा साहित्यकारहरु प्राडा लालुप्रसाद पौडेल, प्राडा खुमनारायण पौडेल, प्राडा रविलाल अधिकारी, प्राडा यामबहादुर पौडेल, देवीप्रसाद बनवासी, रामराज रेग्मी, मीलन समीर, सूर्यप्रसाद डुम्रे, शम्भु अर्याल, वसन्त खनाल, नारायणप्रसाद ज्ञवाली, सिर्जना भट्टराई प्रकृति, यामकान्त खनाल ,परिवेश मरासिनी, विद्या सुवेदी, भीम रानाभाट लगायतले कवितावाचन गरेका थिए ।

सोही अवसरमा भएको कविता प्रतियोगितामा ११ जना सहभागी थिए । प्रतियोगितामा पूर्णामृत भवानी माविका प्रिया न्यौपाने र सरस्वती माविका अमृत पोखरेल उत्कृष्ट बने ।