सम्पदाको विनास र राज्य सञ्चालनमा विद्यमान वेथितिको सामाजिक सञ्जालमा सबैभन्दा बढी चर्चा, आलोचना हुन्छ । यही विषय सर्जकको पनि प्राथमिकतामा पर्ने गरेको छ । संस्कृति र सम्पदा विनास हुँदै गएको भन्दै मुक्तककार डा वसन्त गौतमले यसरी आक्रोश पोखे
प्रकृति मासौं, संस्कृति मासौं
पुर्खाको पौरख, सम्पदा नासौं
भ्रमण वर्ष मनाउन पनि छाड्नुहुन्न
फेवा र रारा भित्तामा टाँसौं
मुक्तक मञ्च पोखराले शनिबार आयोजना गरेको कार्यक्रममा मुक्तकमार्फत यस्तै खबरदारी गरियो । केही मुक्तककारले आउँदै गरेको भ्यालेन्टाइन डेलाई इंगित गर्दै प्रेम विषयका मुक्तक पनि सुनाए । ‘मुक्तकको उत्थान, हाम्रो अभियान’ भन्ने उद्घोषका साथ मुक्तक मञ्चले हरेक महिनाको अन्तिम शनिबार नियमित मुक्तकवाचन गर्दै आएको छ ।
संस्थाका अध्यक्ष रामजीप्रसाद आचार्यले मञ्चले मुक्तकलाई लोकप्रिय बनाउन र जनजीवनसँग जोड्न विभिन्न अभियान सञ्चालन गर्न लागेको बताए । उनले भने, ‘पाठ्यक्रममा मुक्तकलाई समावेश गर्न, विभिन्न पर्यटकीय स्थानमा मुक्तकलेखन, वाचन, अन्तक्र्रिया लगायतका कार्यक्रम गर्ने योजना बन्दै छन् ।’
मञ्चका संस्थापक अध्यक्ष गोविन्द गिरीले समय र परिस्थिति अनुसार सर्जक र संस्थाहरु परिवर्तित हुनुपर्ने बताए । सल्लाहकार लक्ष्मण थापाले साहित्य समाज र सभ्यतालाई अघि बढाउने माध्यम भएकाले ऊर्जाशील भएर सिर्जना कर्ममा लाग्न आग्रह गरे । संस्थाका आजीवन सम्मानित सदस्य अल्पविरामले मुक्तक पछिल्लो समय सर्वप्रिय विधा बन्दै गएको उल्लेख गरे ।
१ सय ४१ औं नियमित मुक्तकवाचनमा अल्पविराम, गोविन्द गिरी, लक्ष्मण थापा, कृष्ण देवकोटा, कपिल शर्मा, इशा शाह, मोहन भण्डारी, भरतराज पौडेल, संगीत लामिछाने, हीरा अधिकारी, केआर ढकाल, राजेन्द्र विक, आवाज पौडेल, सविता शर्मा, बिना बराल, अशोक भुर्तेल, श्रीराम अधिकारी गोर्जे र अनिता दाहालले मुक्तकवाचन गरेका थिए ।




