तनहूँमा आतंक मच्चाउने चितुवा पोखरातर्फ आएको हो ?

तनहुँमा बालबालिकामाथि आक्रमण गरेर आतंकित बनाएको चितुवा पोखरामा आएको आशंका छ । उक्त चितुवाको आक्रमणमा परी कास्कीको १ बालिकाको ज्यान गएको छ । बिहीबार राति पोखरा–३२, कोठेगाउँकी ९ वर्षीया पूजा विकको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।

चितुवाकै आक्रमणबाट पूजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पूजाका बुवा दीपक र आमा अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गरेका थिए ।

जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्नेक्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रही निरीक्षक अधिकारीले बताए । चितुवाले आधा खाएको अवस्थामा पूजाको शव भेटिएको हो ।

प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन् । तनहूँमा आतंकित बनाउने चितुवा पोखरा आएको हुनसक्ने अनुमान गरिएको छ ।

१ वर्षको अवधिमा तनहूँमा ९ बालकालिका चितुवाको शिकार भएका छन् । स्रोतका अनुसार मान्छे खान पल्केको चितुवाले मान्छेबाहेक अन्य जनावरहरू केही खाँदैन ।

चितुवाको आक्रमणबाट तनहूँ र पोखरामा गरी आजसम्म १० जना बालबालिकाले ज्यान गुमाउँदा समेत सरोकार राख्ने निकाय कानुन भन्दै मौन छ । कानून अनुसार चितुवा मार्न पाइँदैन ।

यही कानून भन्दै खोर थापेर केही चतुवा समात्ने बाहेक अन्य केही गतिविधि अघि बढाइएको छैन । नागरिकहरू भने आतंकित बनिरहेका छन् ।