सरकारी जग्गा कब्जा गरेको भन्दै एन्फाविरुद्ध सर्वोच्चमा रिट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले रौतहटको सरकारी जग्गा कब्जा गरेर महिला फुटबल एकेडेमी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता सुजित केसीले एन्फा, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन विभाग, राष्ट्रिय खेलकुद परिषद, एन्फा रौतहट, एन्फा पदाधिकारीलगायतलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा महिला फुटबल एकेडेमीका लागि भवन निर्माण गर्दा प्रक्रिया नपुर्‍याएको अधिवक्ता केसीको दाबी छ । उनले रिटमा भनेका छन्, ‘वन मन्त्रालयअन्तर्गतको जमिन राष्ट्रिय प्राथमिकताको आयोजनाका लागि हो भने मात्र मन्त्रिपरिषदको निर्णय बमोजिम भोगचलन अनुमती दिनुपर्ने हो ।’

हातेमालो सामुदायिक वन उपभोक्ता समूहको साढे तीन हेक्टर जग्गालाई कृत्रिम मिनि पिच बनाउन भनेर २५ वर्षका लागि लिएको तर त्यहाँ भवन निर्माण गरिएको रिटमा उल्लेख छ ।

अखिल नेपाल फुटबल संघको वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा तथा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति समेतलाई जानकारी नदिइ फिफाबाट प्राप्त ४ करोड भन्दा धेरै नेपाली रुपैयाँ नेपालकै पहिलो महिला फुटबल एकेडेमी (टेक्निकल सेन्टर) निर्माण गर्ने भन्दै सरकारी वनक्षेत्रको जग्गा कब्जा गरी निर्माण कार्य शुरु गराएको केसीको भनाइ छ ।