तेस्रो लिंगीको हत्यामा संलग्न ५ पक्राउ

हेटौंडा-११ की तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

प्रहरीले हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको हो।

यही माघ ४ गते बिहान हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा शव फेला परेको अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए। उनले मोबाइल आफ्नी पत्नी एलिसालाई दिएका थिए। सोही मोबाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।

यौन सम्पर्कपश्चात् पैसाका विषयमा विवाद भएपछि भुजेलको हत्या गरि शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेको अनुसन्धानबाट खुल्नमा आएको हो।

घटनामा संलग्न २ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।