पोखरा महानगरपालिकाले सहकारीको अनुगमन सुरु गरेको छ । सहकारी ऐन तथा नियमावलीको प्रावधान अनुसार महानगर कार्य क्षेत्र भएका सहकारीको अनुगमन महानगरपालिकाले सुरु गरेको हो ।
वित्त सुशासन, संस्थागत सुशासन कायम गराई सहकारीको दिगो सञ्चालन, स्तरीकरण, एक रुपता, वर्गाीकरणमा सहयोग गर्ने नीति, विधि र प्रविधिमा सहयोग गर्न सहकारीको अनुगमन थालिएको पोखरा महानगरपालिकाको सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए ।
उनले अनुगमनले सहकारीको वास्तविक अवस्थाको पहिचान, तथ्यांक संकलन, सहकारी ऐन, नियमावली लागु, सम्पत्ति शुद्धीकरण निर्देशिका र समसामयिक कानुनको पालना सम्बन्धमा सहकारी संस्थाको विश्लेषण गर्न सघाउने दाबी गरे ।
‘पहिलो चरणमा ५० सहकारी अनुगमन गर्ने छौं,’ अधिकारीले भने, ‘अनुगनका लागि ५ वटा समूह गठन गरेर अघि बढेका छौं ।’ सोमबार पोखरा ३ मोहोरिया टोलमा रहेको करुणा बचत तथा ऋण सहकारी संस्था र पोखरा १ को समावेशी बचत तथा ऋण सहकारी संस्थामा अनुमगन गरिएको सहकारी शाखाका अधिकृत अर्जुन नेउपानेले बताए । सोमबार सहकारी विज्ञ ज्ञानबहादुर कार्कीको संयोजकत्वमा सहकारी समिति सदस्य तथा वडा नम्बर २७ का अध्यक्ष पूर्णकुमार गुरुङ र सहकारी शाखाका नउपानेको टिमले अनुमगन गरेको हो ।
५० सहकारीको अनुमगन गरेपछि प्रतिवेदन तयार पारिने सहकारी सदस्य गुरुङले बताए । ‘विशेष गरी सहकारीमा वित्तीय अनुशासन, संस्थागत सुशासन अवस्था र सहकारीको मर्म र उद्देश्य अनुरुप सञ्चालन भएका छन् कि छैनन्, त्यसबारे अनुगमन गरिनेछ,’ उनले भने । सहकारी संस्थाको योदानको कदर गर्दै स्थानीय विकासको साझेदार बनाउने, असल काम गर्ने संस्था र व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्ने, गलत कार्य गर्ने संस्था वा व्यक्तिलाई कानुनी दायरमा ल्याई सुसंस्कृति सहकारी क्षेत्र निर्माण गर्ने उद्देश्य अनुगमनको रहेको सहकारी विज्ञ ज्ञानबहादुर कार्कीले बताए ।
पोखरा महानगरमा सूचीकृत नभएका सहकारीलाई सूचीकृत गर्न पनि अनुगमनले सघाउने महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिकाको कार्यक्षेत्रमा ३ सय ५७ सहकारी छन् । सहकारीको दर्ता, अनुगमन, निरीक्षण तथा व्यवस्थापन गरी सुशासनयुक्त र दीगो सहकारी निर्माणका लागि महानगर सहकारी नियमावली अनुसार अनुगमन थालिएको हो ।




