माघ २० गते २०७६

ताजा समाचार

माघ २० गते २०७६

परिवारका ४ जना मिलेर बुहारीको हत्या

धनुषाको औरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासवानको हत्या गर्ने ४ जना पक्राउ परेका छन् ।

प्रहरीले घटनामा संलग्न मृतक चिन्तामणिका श्रीमान ३० वर्षीय अनिलकुमार पासवान, ससुरा ५५ वर्षीय राधाकृष्ण पासवानलाई सोमबार बिहान जनकनन्दनी २ बलहा टोलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो भने ४५ वर्षीया सासु कुमला पासवान र २० वर्षीया नन्द पुनिता पासवानलाइ जनकपुर उपमहानगर ४ स्थित पेठिया बजारमा आइतबार साँझ पक्राउ गरेको हो।

माघ १८ गते मोबाइललाई लिएर बुहारी चिन्तामणि र नन्द पुनिताबीच सामान्य विवाद भएको थियो। सोही विषयलाई लिएर श्रीमान, नन्द, सासू र ससुराले बुहारीको घाँटी थिची हत्या गरेका थिए। बुहारीको हत्यापछि उनीहरुले अपराध लुकाउन शव झुण्ड्याएका थिए।

त्यसपछि टोलमा हल्लाखल्ला गरेर उनीहरुले शवलाई अटो रिक्सामा राखी उपचारको लागि भन्दै प्रादेशिक अस्पताल प्रदेश २ मा ल्याई आकस्मिक कक्षामा राखेकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

पक्राउ परेकाहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइसकिएको प्रहरीले जानकारी दिएको छ ।