इन्द्रमानको जन्मदिनमा ज्येष्ठ नागरिकलाई सहयोग

साहित्यकार, पत्रकार इन्द्रमान खत्रीले जन्मदिनमा पोखरा ५ को ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयोग गरेका छन् ।

इन्द्रमानका बुबा गजेन्द्र र छोरीले नगद ५ हजार र फलफूल सेवा केन्द्रलाई आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् । प्रेस संगठन नेपाल गण्डकीका सदस्य इन्द्रमान साहित्यकार पनि हुन् । उनी पर्वतको नमुना आवासीय मावि र पोखराको एकता बोर्डिङका संस्थापकसमेत हुन् ।

कार्यक्रममा पोखरा ५ की वडा सदस्य अञ्जु क्षेत्रीले समाज सहकार्यकै अर्काे नाम भएको बताइन् । उनले हरेक नागरिकले आफ्नो हैसियत अनुसार सामाजिक दायित्व र नागरिक दायित्व वहन गरे समाज खुसी र देश समृद्ध बन्ने उल्लेख गरिन् ।

गजेन्द्रले शनिबार जन्मदिन भए पनि सार्वजनिक बिदा परेकाले आइतबार सहयोग हस्तान्तरण गरिएको बताए । उनले ज्येष्ठ नागरिकको अनुभवलाई समाजको हितमा लगाउन र उनीहरुको जीवनको उत्तराद्र्धलाई सुखद् बनाउन परिवार, समाज र राज्यले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सेवा केन्द्रका अध्यक्ष विश्वनाथ पराजुलीले ज्येष्ठ नागरिकलाई मनोरञ्जन, ज्ञान र जीवनोपयोगी दर्शन दिन प्रयत्नरत भएको बताए । वृद्धावस्था सबैको जीवनमा आउने भएकाले उनीहरुको ज्ञानलाई उपयोग गर्न र बूढेसकालमा हेरचाहको उचित व्यवस्था गर्न परिवार, समाज र सरकार सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।