कार लिएर दिउँसै चोर्न हिंड्ने ‘ग्याङ’ पक्राउ

दिउँसै कार प्रयोग गरी चोरीमा संलग्न ४ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त कमलपोखरीको संयुक्त टोलीले दोलखा शैलुङका रवि कार्की, काठमाडौंका राजन खनाल, काभ्रेका उपेन्द्र खरेल र सुनचाँदी पसलका सञ्चालक खोटाङ दिक्तेलका मौलकुमार विकलाई बूढानीलकण्ठस्थित चुनिखेलबाट यहि माघ १५ गते चोरीका सामानसहित पक्राउ गरेको हो ।

उनिहरुले गत पुस २८ गते काठमाडौं भत्केको पुलस्थित डेरा गरी बस्ने विष्णु बहादुर कार्कीको डेराबाट २ लाख नगद, २० तोला सुनका गरगहना, मोबाइल चोरी गरेका थिए। प्रहरीका अनुसार चोरी गरेको सुन उनीहरुले मौलकुमार विकको निश्चल सुनचाँदी पसलमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले चार जनाबाट १ लाख ६० हजार पैसा , चोरीमा प्रयोग भएको कार्कीको नाममा रहेको बा ३ च ६२७६ नम्बरको गाडी , मोबाइल र पर्स समेत बरामद गरेको प्रहरीले जनाएको छ ।