नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीले शनिबार भव्य रुपमा सोनाम ल्होसार मनाएको छ ।
२१४७ औं च्याग फो ज्यिवा ल्हो(मुसा वर्ग)लाई स्वागत गर्दै शुभकामना आदानप्रदान, सम्मान, साँस्कृतिक कार्यक्रमका साथै सामूहिक प्रितीभोज गरी चाउथेको आफ्नै नयाँ भवनमा संस्थाले ल्होसार मनाएको हो।
समाजले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही पहिलो ह्योल्मो महिला कान्छी डोल्मा ह्योल्मोलाई नगद र सम्मानपत्रसहित समारोहमा सम्मान गरेको छ । उच्च शिक्षा हासिल गर्ने रोजिना लामा ह्योल्मो, स्मृति ह्योल्मो, सन्नी गुरुङ ह्योल्मो, श्रेया लामा ह्योल्मो र समीक्षा लामा ह्याल्मो पनि कार्यक्रममा सम्मानित भए ।
उनीहरुलाई नेपाल ह्योल्मो समाज सेवा संघ केन्द्रीय समिति अध्यक्ष पेमा ज्यावा ह्योल्मो र कास्की अध्यक्ष क्या. पूर्णबहादुर ह्योल्मोले सम्मानगरेका हुन् । नेपाल ह्योल्मो समाज सेवा संघ केन्द्रीय अध्यक्ष पेमा ज्यावाले सोनाम ल्होसार परम्परागत ढंगले मात्रै नभएर नयाँ ढंगले मनाउनुपर्ने विचार राखे । ह्योल्मोहरुको एकताका साथै ह्योल्मोहरुको महान् पर्वमा राज्यलाई बिदा दिन दबाब दिनुपर्ने उनले बताए । संघ कास्कीले भवन निर्माण गरी उदाहरणीय काम गरेकोमा उनले प्रशंसा गरे ।
सगरमाथा आरोही कान्छी डोल्मा ह्योल्मोले ल्होसारको गरिमामय समारोहमा सम्मानित हुन पाउँदा पुलकित भएको सुनाइन् । सगरमाथा चढ्न निकै कठिन भए पनि अठोटका साथ ह्योल्मो समुदायको प्रतिष्ठाकै लागि शिखरमा पुगेको उनले बताइन् । उनले भनिन्, ‘हामी महिला कमजोर छैनौं, पुरुष समान काम गर्न सक्छौं । मैले सकें, यहाँहरु पनि सक्नुहुन्छ ।’

कार्यक्रममा भवन निर्माण समिति संयोजक खडगबहादुर ह्योल्मोले भवन निर्माणका लागि करिब ७० लाख रुपैयाँ सहयोग संकलन भएको जानकारी दिए ।
कार्यक्रममा ह्योल्मो समाज सेवा संघ नवलपरासी अध्यक्ष रामप्रसाद ह्योल्मो, लमजुङ अध्यक्ष यमबहादुर ह्योल्मो, तमु धीं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङ, नेपाल ह्योल्मो महिला समाज सेवा संघ कास्की अध्यक्ष तिलकुमारी ह्योल्मो, संघ कास्की अध्यक्ष क्या. पूर्णबहादुर ह्योल्मो, उपाध्यक्ष होमबहादुर ह्योल्मो, सहसचिव पूर्ण लामा ह्योल्मो लगायतले बोलेका थिए ।





