पोखरा महानगरका महिला निर्वाचित भएपछि आफूहरुले संगालेका अनुभव साटासाट गर्दै आफ्नो भूमिका अझ प्रभावकारी बनाउने जनाएका छन् । जनप्रतिनिधिले आफूहरुले गरेका काम, कार्यसम्पादनमा देखिएका समस्या, अनुभव र अब गरिनुपर्ने कार्यहरु बारे शुक्रबार विमर्श गरेका हुन् ।
गण्डकीका उपसभामुख सृजना शर्माले महिला जनप्रतिनिधि घरको कामसमेत सम्हाल्दै दिन रात जनताको काममा जुटेको बताइन् । उनले अझै योगदानको ठोस परिणाम नदेखिएकाले सशक्त भएर कार्यसम्पादनमा लाग्नुपर्नेमा उनले जोड दिइन् । वडा र महानगर दुवैले भूमिका दिनुपर्ने र महिला पनि त्यसलाई पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्ने उनको सुझाव् छ ।आफ्नो भूमिका र जिम्मेवारीमा खरो उत्रन सकेमात्र अब आउने अवसरमा प्रतिस्पर्धा गरी निर्णायक तहमा पुग्न सकिने उनले औंल्याइन् ।
संघीय सांसद विद्या भट्टराईले सामाजिक, न्यायिक र आर्थिक तीनै क्षेत्रमा महिला जनप्रतिनिधिले आफ्नो भूमिका सशक्त बनाउनुपर्ने बताइन् । उनले प्रभावकारी भूमिका निर्वाह गर्न त्यही किसिमको तयारीमा लाग्न उनले आग्रह गरिन् ।
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अहिलेको स्थानीय तह हिजोका नगरपालिका वा गाउँ विकास समिति जस्ता नभएको बताए । उनले समावेशी प्रतिनिधित्वसहितको अधिकार सम्पन स्थानीय सरकार भएकाले विकास र प्रगतिमा जुन परिणाम देखिनुपर्ने हो, त्यसलाई महसुस गर्न सकिने गरी काम गर्न आग्रह गरे ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले क्षमता अभिवृद्धि गरी आफूप्रति अन्यले गुनासो नराख्ने गरी कार्य सम्पादनमा लाग्न आग्रह गरे । संविधानले तोकेको निश्चित कोटा बाहेकमा पनि आफूलाई प्रतिस्पर्धी बनाउन सक्ने गरी क्षमता बढाउन उनले आग्रह गरे ।
कार्यक्रमको अध्यक्षतासमेत गरेकी उपमेयर मञ्जुदेवी गुरुङले महिला जनप्रतिनिधिले काम गरे पनि आम हेराइ अझै पूर्वाग्रही रहेको गुनासो गरिन् । महिला भएकै कारण वडासमितिमा महिलाका विषय उठान र सम्पादनमा सहज भएको, न्यायिक समितिमा विवाद समाधान र निरुपणमा सहज भएको उनले सुनाइन् । गुरुङले महिला जनप्रतिनिधिबीच नै समन्वय र सहकार्यले मात्रै महिलाका विषयलाई प्रभावकारी रुपमा सम्बोधन गर्न सकिने उनले औंल्याइन् ।
पोखरा ८ की महिला सदस्य किरण गौतमले कार्यालयदेखि अन्य स्थानमा ठोस जिम्मेवारी प्राप्त गर्न कठिनाइभएको अनुभव सुनाइन् । वडाको बैठकमा हस्ताक्षरकर्ताको मात्र भुमिका हो भन्ने सोचाइ कतिपयमा रहेको उनको गुनासो छ । कार्यक्रमका सहभागीले जनप्रतिनिधि भएपछि सामाजिक दृष्टिकोणमा परिवर्तन भएको, जिम्मेवारी बढेको, समाजका लागि थप योगदान गर्ने अवसर मिलेको, महिलाका विषय उठान गर्न सहज भएको अनुभव सुनाए । उनीहरुले यस्ता कार्यक्रम नियमित रुपमा आयोजना गर्न पनि सुझाव दिए ।

पोखरा ५ की सदस्य अञ्जु केसीले कार्यकालको आधा अवधिमा महिला जनप्रतिधिका अनुभव आदानप्रदान गरी बाँकी कार्यकालमा प्रभावकारी भूमिका निर्वाह गर्न कार्यक्रमले सघाएको बताइन् । कार्यक्रमको व्यवस्थापनसमेत गरेकी केसीले अहिलेसम्मका कठिनाइ, भूमिका र अवसरलाई सिंहावलोकन गरी भावी दिनमा प्रभावकारी भूमिका निर्वाह गरी समृद्ध महानगर बनाउनु कार्यक्रमको उद्देश्य भएको बताइन् ।
पोखरा १५ की वडा सदस्य तथा न्यायिक समिति सदस्य पार्वती कार्कीले कार्यक्रम फलदायी भएको उल्लेख गरिन् । कार्यक्रममा महानगरका कार्यपालिकाका महिला सदस्य तथा वडाका महिला सदस्यसहभागी थिए ।






