पोखरामा खुल्यो इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्स

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले नेपालको विकास गर्न दक्ष जनशक्तिको खाँचो रहेको बताएकी छन् ।

पोखराको पन्थीगल्लीमा खुलेको इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्स (आईसीएएस) शुभारम्भ गर्दै मन्त्री पुनले सीप र दक्षता भए संसारको जुनसुकै ठाउँमा गएर पनि काम गर्न सक्ने उल्लेख गरिन् ।

नेपालमा अहिले भौतिक विकासलाई मात्रै प्राथमिकता दिइएको बताउँदै मन्त्री पुनले योग्य, नैतिकवान र दक्ष नागरिक तयार नभएसम्म देश अघि बढ्न नसक्ने स्पष्ट पारिन् ।

देशमा संघीयता आए पनि तीन तहका सरकारका अधिकार स्पष्ट रुपमा परिभाषित नभएको बताउँदै उनले अधिकार बाँडफाँडका विषय परिभाषित नहुँदा प्रदेश सरकारलाई काम गर्न अप्ठेरो भएको बताइन् ।

कलेजले दक्ष जनशक्ति तयार गर्दै अर्गानिक उत्पादनलाई प्रोत्साहित गर्न आग्रह गर्दै मन्त्री पुनले स्वस्थ नागरिक तयार गर्नका लागि कलेजले विशेष ध्यान दिनुपर्ने बताइन् ।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले कलेजले व्यवसायिक शिक्षा दिएर रोजगारीका लागि सहजीकरण गर्ने विश्वास व्यक्त गर्दै दक्ष र सीपयुक्त जनशक्तिले मात्र देश विकास हुने बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले व्यवसायिक र प्राविधिक शिक्षाको जरुरी रहेकोमा जोड दिँदै यस्ता कलेजलाई सरकारले पनि आवश्यक प्राथमिकता दिनुपर्ने स्पष्ट पारे ।

कलेजका प्रबन्ध निर्देशक समीर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाशचन्द्र गिरीले पनि बोलेका थिए ।

झण्डै १ करोड रुपैयाँको लगानीमा शुरु भएको सो कलेजमा अध्यापनका लागि स्वीकृत कोर्षहरू बार टेण्डर, हाउस किपिङ, कुकिङ, वेटर, वेट्रेस रहेका छन् भने कमर्सियल कुकिङ, बेकिङ, प्रोफेशनल कुकिङ, वरिष्ठा, बेकरी र रुम एटेन्डेन्टको सम्बन्धन आउने क्रममा रहेको प्रबन्ध निर्देशक थापामगरले जानकारी दिए ।