सामाजिक, सांस्कृतिक क्षेत्रका विकृति, विसंगति हटाउन र राष्ट्रिय एकताको पक्षमा योगदान गर्न सहद गिरी बसन्धरी स्मृति ट्रस्ट स्थापना भएको छ । पोखरामा बुधबार भएको भेलाले ट्रस्ट स्थापना गरी कार्यसमिति र सल्लाहकारसमेत चुनेको छ ।
संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश पूर्ण गिरी, गोपाल गिरी, सूर्य गिरी, शान्ति रानाभाट र शेरबहादुर क्षेत्री छन् ।
२ सदस्यपछि थपिने गरी बनाइएको १७ सदस्यीय कार्यसमितिका सदस्यमा बलराम गिरी, धर्मराज लामिछाने, सुशीला गिरी, विष्णुलाल थकाली, रामचन्द्र गिरी, मायादेवी गिरी, वेल गिरी, ओमप्रकाश गिरी, शंकर गिरी र सञ्जोग गिरी छन् । सल्लाहकारमा झलकपाणि तिवारी, रामराज रेग्मी, टेकनाथ बराल र डा. कृष्णराज अधिकारी छन् ।
संस्थाले अन्तक्र्रिया, छलफल, बहस, सेमिनार, कार्यशाला आदि गरी संस्कृतिक परिवर्तनलाई सघाउने अध्यक्ष पूर्ण गिरीले बताए । उनले भने, ‘समाजलाई सही दिशानिर्देश गर्न वृद्धवृद्धाको सम्मान र श्रृद्धाका काम गर्ने छौं ।’ ट्रस्टले गरिब तथा जेहेन्दार बालबालिकालाई पुरस्कार, छात्रवृत्ति, वृद्धाश्रम र वृद्धवृद्धालाई सहयोग र सम्मानसमेत गर्ने लक्ष्य लिएको छ ।
यसका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । कोषमा सहद गिरीका छोराबुहारी पूर्ण र मायादेवीले २ लाख २२ हजार २ सय २२, नातित्रय ओमप्रकाश, रामचन्द्र र विनोदले ३ लाख ३३ हजार ३ सय ३३ राखेका छन् ।
सहद गिरीको ५ औं स्मृति दिवसमा ट्रस्ट घोषणा भएको हो । कार्यक्रममा वाम बुद्धिजीवीहरु रामराज रेग्मी र डा कृष्णराज अधिकारी, भीम रानाभाट, गोपाल गिरी, सूर्य गिरी, शान्ति रानाभाट लगायतले बोलेका थिए ।




