वीर सहिदहरूको सपनालाई साकार पार्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदले गरेको त्याग र बलिदानबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताएकी छन्। सहिद दिवस, २०७६’ को सन्देश‌ जारी गर्दै उनले वीर सहिदहरूप्रति श्रद्धा, सम्मान व्यक्त गरेकी हुन् ।

उनले सन्देशमा देश र जनताको लागि आफ्नो जीवनको आहुती दिने वीर सहिदहरूप्रति श्रद्धा, सम्मान र स्मरण स्वरूप विविध रचनात्मक कार्यक्रमहरू गरी सहिद दिवस मनाउँदै आइएको उल्लेख गर्दै सहिद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्वद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिले जारी सन्देशमा वीर सहिदहरूको सपनालाई साकार बनाउन हामी सबैले आ(आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ निभाउनका लागि यस दिवसले थप प्रेरणा प्रदान गर्नेछ भन्ने आशा लिएको बताएकी छिन्।