प्रहरीले मकवानपुरमा गोली हानेर ३२ किलो गाँजासहित तीन जना भारतीयलाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–११ थानार्भयाङस्थित पूर्वपश्चिम राजमार्गमा गाँजा तस्करीको सूचना पाएपछि प्रहरीले गाँजा तस्कर समात्न बुधबार बिहान साढे १२ बजे गोली चलाएको हो ।
बिआर ०६ जे ४४५८ नम्बरको भारतीय कारलाई रोक्न खोज्दा भागेपछि गोली चलाइएको हो । मनहरीबाट हेटौंडा जाँदै गरेको कार भैवडाँडातिर भाग्न खोज्दा दुई राउण्ड गोली चलाइएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिएका छन् ।
एक राउण्ड हवाई फायर गर्दा नरोकिएपछि प्रहरीले कारको टायरमा गोली हानेको थियो । टायरमा गोली हानेपछि चालक भारत मुजफरपुरका ३५ वर्षीय सञ्जित पासवान, अजैमल हवारी र ४५ वर्षीया जाहेरा खातुनलाई पक्राउ गरिएको राठौरले बताए ।
उक्त कारको सिटमुनि फल्स बटम बनाएर १६ पोकामा ३२ किलो गाँजा फेला परेको उनले बताएका छन्।






