रूपन्देहीको रोहिणीमा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्।
मंगलबार बिहान भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा पाल्ही नन्दन गाउँपालिका ४ का लालु कुर्मी , भविकन कुर्मी र पूर्णबहादुर भुजेलको मृत्यु भएको हो।
घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ। घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ।
भीम अस्पतालमा ट्रक चालक तनहुँका विरेन्द्र गुरुङ, पाल्हीनन्दन नवलपरासीका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजन तथा मेडिकल कलेजमा नवलपरासी पाल्हीनन्दन ४ का विनोद धवल,दुधही हरिजन, मोहन राय र सुवास कुर्मीको उपचार भइरहेको छ ।
अत्याधिक कुहिरोको कारण ट्रक एक आपसमा ठोक्किएको हुन सक्ने प्रहरीले जनाएको छ।






