एनसेलका टावर निशानामा

नेपालकै ठूलो मोवाइल सेवा प्रदायक एनसेलका टावर दिनदिनै आगजनी भएका छन् । आइतबार रातिमात्रै ६ ठाउँमा एनसेलका टावरमा आगजनी भएको छ । अज्ञात समूहले आगजनी गरेको भनिए पनि आगजनीमा विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीले दाबी गर्ने गरेको छ ।

आइतबार खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका २ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । आइतबार राति १०ः४५ बजे टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । दमकल, नेपाल प्रहरी र स्थानीयको सहायताले राति नै आगो नियन्त्रणमा लिइएको थियो । आगो लगाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सिन्धुलीको मरिण गाउँपालिका ७ मा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार एनसेलको टावर पूर्णरूपमा क्षति भएको छ । टावरमा कसले आगजनी ग¥यो भन्ने खुल्न सकेको छैन ।

आइतबारै रामेछाप जिल्लामा पनि एनसेल टावरमा आगजनी भएको छ । दोरम्बा गाउँपालिका ७ गुम्सीमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । पाल्पाको बगनासकाली गाउँपालिका ९ स्थित बगनासडाँडामा रहेको एनसेलको टावरमा आगजनी भएको छ । आइतबार राति करीब पौने १० बजेको समयमा टावरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दीपेन्द्र जिसीले बताए ।

सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरमा रहेको एनसेल टावरमा विस्फोट गराइएको छ । लालबन्दी नगरपालिका १६ स्थित टावरमा आइतबार राति एनसेल टावरमा विस्फोट गराउँदा सोलार प्यानल, युपिएस तथा तारहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

पश्चिम नवलपरासीमा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाको रामग्राम नगरपालिका ९ करमैनीस्थित चन्द्रशेखर पाठकको खेतमा रहेको एनसेल टावरमा गएराति आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट टावरको अगाडि भागको तार जलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।