तनहुँको बन्दीपुर गाउँपालिका ४ ठूलढुंगादेखि बन्दीपुर बजारसम्म केबलकार निर्माण गरिरहेको आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडले पर्यटन एवं उद्यशमील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।
बन्दीपुर केबलकार प्रालिले हरेक वर्ष पुरस्कृत गर्ने गरी पुरस्कार घोषणा गरेको हो ।
पुरस्कार राशि १ लाखको सेयर छ । कम्पनीको पाँचौ साधारणसभाको अवसरमा माघ २५ गते पुरस्कार वितरण गरिने कम्पनी अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
पत्रकार छनोट गर्नका लागि कम्पनीका निर्देशक तारानाथ उपाध्यायको संयोजकत्वमा छनोट तथा वितरण समिति गठन गरिएको छ । केबलकार परियोजना पूर्ण चरणमा सुरु भएको १ वर्षपछि पुरस्कारको राशि ३ लाख पु¥याउने र वार्षिक रुपमा ३ पत्रकारलाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ । बन्दीपुर, आँबुखैरेनी आसपासको क्षेत्रमा पर्यटन प्रबद्र्धन एवं उद्यमशीलता जागरण ल्याउन कलम चलाएबापत कम्पनीले पुरस्कृत गर्ने नीति बनाएको छ ।
१ वर्षभित्र केबलकार सञ्चालन ल्याउने गरी कामलाई तीव्रता दिइएको छ । परियोजना अन्तर्गत अहिले बटम स्टेसनको काम चलिरहेको छ । बटम स्टेसन भवनको लागत १८ करोड ५५ लाख छ । बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कुल लागत १ अर्ब ५६ करोड छ ।
‘केबुलकार १ वर्षभित्रै सञ्चालनमा आउनेछ, अन्य संरचना पनि साढे २ वर्षभित्र सक्ने लक्ष्यसहित काम थालेका छौं,’ शर्माले भने । प्रारम्भमा ५६ करोडलागतमा केबलकार बनाउने योजना रहेकोमा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो । बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जंगल सफारीसमेत सञ्चालन गर्ने कम्पनीको योजना छ ।
केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई ४५ लाख बराबरको सेयर दिइएको छ । केबलकार कम्पनीमा २ सय २५ जनाभन्दा बढी स्थानीयले लगानी गरेका छन् । केबलकार निर्माणका लागि बन्दीपुर गाउँपालिकाले ५० लाख लगानी गरेको छ । ‘परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्नका लागि निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पुँजी निर्माण गरिनेछ,’शर्माले भने ।
ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २ सय जना वारपार गर्न सक्नेछन् । एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ ।




