प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ ।
शनिबार साँझ प्रहरीले वडा नम्बर १९ बाट बा २ झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणमा गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय मकवानपुरको नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो । उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका–९ का मोहम्मद खलिद, डुमरिया–४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन् ।
एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोलाभित्र ६ पोकामा राखेको गाँजा फेला परेको थियो । एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको छ । एम्बुलेन्ससहित नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






