राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग छाडेर सोमबार स्वदेश फर्कने भएका छन्।।
माघ २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक ओडीआई सिरिजका लागि सन्दीप मेलबर्न स्टार्सबाट क्वालिफयार खेल छाडेर नेपाल फर्किन लागेका हुन् ।
जारी बिग बासमा सन्दीपले १३ खेलमा १५ विकेट लिएका छन्। यो सँगै सन्दीपको टि–ट्वान्टी क्रिकेटमा आफ्नो विकेट संख्या ९९ पुगेको छ।
सन्दीप नेपाल फर्कने भएपछि स्टार्सका प्रशिक्षक डेविड हस्सीले निराशा व्यक्त गरेका छन्।
‘सन्दीपले नेपाल फर्कनुपर्ने बताउँदा म पक्कै पनि खुसी थिइन। उनी हाम्रो उपाधि योजनाका मुख्य खेलाडी पनि थिए,’ हस्सीले भने, ‘तर, जब राष्ट्रिय टोलीबाट खेल्ने अवसर आउँछ, यसलाई खुसी साथ लिनुपर्छ। राष्ट्रिय टोलीबाट खेल्न पाउनु विशेष हुन्छ र हामी उनलाई शुभकामना दिन चाहन्छौं।’









