म लुकेको होइन, हराएको पनि छैन : दन्ता नेपाली

गोष्ठीका लागि अमेरिका गएर उतै लुकेर बसेको समाचार बाहिर आएपछि कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली ९दर्शना० ले समाचारको खण्डन गर्दै प्रतिक्रिया जनाएकी छन् ।

आइतबार स्टाटस लेख्दै उपप्रमुख नेपालीले आफू बिरामी परेका कारण नेपाल फर्किन नसकेको स्पष्ट गरेकी छन् । आफू मेयर रतनबहादुर शाहीलाई जानकारी दिएर अमेरिका गएको भन्दै कतै नलुकेको प्रष्ट्याएकी हुन् । ‘म हराएको पनि छैन, कतै लुकेको पनि छैन’, उनले लेखेकी छन्, ‘म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।’

उपप्रमुख नेपालीले आफ्नो स्वास्थ्यमा सामान्य सुधार भएको तर चिकित्सकले निको हुन अझै पाँच महिना लाग्ने बताएको उल्लेख गरेकी छन् । ’अहिले म राम्रोसँग बोल्न पनि सक्दिनँ अलिअलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारतकी डा। अञ्जिर कुमारले गर्दै हुनुहुन्छ । म पूर्णरुपमा निको हुन अझै समय लाग्छ ।’

अमेरिकाबाट मेयरलाई बारबार फोन गर्दा केही प्रतिक्रिया नआएको गुनासो पनि उनले गरेकी छन् । यता मेयरले भने नेपालीले आफूलाई गएको केहि दिनपछि एक पटक फोन सम्पर्क गरेको भए पनि त्यसपछि सम्पर्कविहीन भएको बताएका थिए ।

अमेरिकामा आयोजित गोष्ठीमा भाग लिन कात्तिक पहिलो साता गएकी उपप्रमुख नेपाली फर्किएकी छैनन् । पार्टी र नगरपालिकालाई समेत जानकारी नभएको खबर विभिन्न सञ्चारमाध्यममा आएपछि उनले खण्डन गरेकी हुन् ।