पोखराको श्रीपती कोइराला गूठीले २ वटा प्रतिक्षालय शिलान्यास गरेको छ । गुठीले पर्वत जिल्लाको कालीगण्डकी किनार र दाङ जिल्लाको राप्ती नदी किनारमा प्रतिक्षालय बनाउन लागिएको हो ।
आफ्ना संस्थापक श्रीपती कोइरालाको स्मृतिमा उक्त प्रतिक्षालय बनाउन लागिएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए ।

दाङ्गस्थित राप्ती गाउँपालिका वडा नं. १ राप्ती नदी किनारको प्रतिक्षालय वडाध्यक्ष ताराबहादुर डिसीले शिलान्यास गरे । यो प्रतिक्षालय चैत्र महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।
शिलान्यास कार्यक्रम श्रीपति गुठीका अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा भएको थियो । घाटमा आउनेहरूका लागि सुविधा होस् भन्ने उद्देश्यले निर्माण गर्न लागिएको प्रतिक्षालयको लागत करिब १० लाखको हुने सचिव कोइरालाले बताए । उनका अनुसार आफ्ना संस्थापक श्रीपति कोइरालाको अन्त्येष्टि राप्ती नदी किनारमै भएको थियो ।

यसैगरी पर्वतस्थित कालीगण्डकी किनार शिवालय मन्दिर परिसरमा फलेवास नगरपालिकाका वडा नं. ४ का अध्यक्ष एवं नगरापालिकाका प्रवक्ता टीकाराम गौडेलले शिलान्यास गरे ।
मन्दिर परिसरमा आउने भक्तजनको सुविधाका लागि प्रतिक्षालय निर्माण गर्न लागिएको हो । यो प्रतिक्षलयको लागत पनि करिब १० लाख नै हुने सचिव कोइरालाले जानकारी दिए ।

शिलान्यास कार्यक्रम गुठीका उपाध्यक्ष फडिन्द्रराज कोइरालाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गुठियार सदस्य नीलकण्ठ कोइराला पनि सहभागी थिए । प्रतिक्षालय फागुन महिनाभित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।






