हिमालयन शेर्पामाथि थ्रीस्टारको सहज जित

सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहिबार भएको पहिलो खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ गोलले पराजित गरेको हो ।

थ्री स्टारले खेलको छैटौं मिनेटमा शुशिल राईको गोलको मद्दतमा अग्रता लिएको थियो ।

हिमालय शेर्पाका स्टेफन समिरले गोेल गर्दै बराबरीमा ल्याएका थिए । बराबरी गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै सन्जोक राईले उत्कृष्ट गोल गरेपछि पहिलो हाफमा थ्री स्टारले अग्रता बनायो ।

दोस्रो हाफको ५०औं मिनेटमा नाइजेरियन खेलाडी ओलानडिरन हाजमतले गोल गर्दै थ्री स्टारलाई जित सुनिश्चित गरेका थिए ।

जितसँगै थ्री स्टार लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने हिमालयन शेर्पा ७ अंककासाथ एघारौं स्थानमा छ ।