जबर्जस्ती करणीको आरोपमा अहेवमाथि मुद्दा

नवलपुरको बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि ४० वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ ।

प्राप्त उजुरीका आधारमा छैटौँ तहमा कार्यरत अहेव सुस्लिङमाथि मुद्दा चलाएको हो । अहेव सुस्लिङ फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माघ २ गते बिहीबार साँझ सुस्लिङले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेपछि मुद्दा चलाइएको हो । पीडित महिलाको स्वास्थ्य जाँच गरिएको छ ।

घटना प्रहरी कहाँ पुगेको तीन दिनसम्म पनि आरोपित पक्राउ नपर्नु दुःखद भएको स्थानीयवासीले बताएका छन् । फरार आरोपीलाई प्रहरीले खोजतलास गर्न ढिला गर्न नहुने महिला अगुवा लीला भण्डारीले बताइन् ।

‘पीडकलाई गाउँमै माफी मगाउने र पीडितलाई २० हजार दिएर मिलापत्र गर्ने धम्की दिएपछि प्रहरीको शरणमा आएका हौँ’, पीडित महिलाका श्रीमानले भने । ‘अहिले पनि तँसँग मुद्दा लड्ने पैसा छैन, मुद्दा फिर्ता लिई भन्दै पीडकका आफन्तहरुले दबाब दिएका छन् ।’

पीडकलाई पक्राउ नगर्दा पीडितहरुमाथि दबाब र धम्की आइरहेको पीडितका श्रीमानले गुनासो गरे । गाउँमा पहिले पनि यौनजन्य अपराध हुँदा स्थानीयस्तरमै बसेर मिलापत्र गर्न जनप्रतिनिधिले दबाब दिने गरेकाले आरोपितहरुको मनोबल बढ्ने गरेको स्थानीयवासीको भनाइ छ । पीडकलाई कानूनी रुपमा कारवाही हुने अवस्था आउनुपर्ने बुलिङटारका यमबहादुर सारुले बताएका छन् ।