गुरुङ साहित्यिक मञ्चको स्थापना दिवसमा कविता प्रतियोगिता

गुरुङ साहित्यिक मञ्च नेपालले तेस्रो स्थापना दिवसमा कविता प्रतियोगिता गर्ने भएको छ । आगामी चैत २१ गते मञ्चले कविता प्रतियोगितासहित साहित्यिक प्रशिक्षण आयोजना गरेको मञ्चकी अध्यक्ष गौरी गुरुङले बताइन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा कवि चन्द्र गुरुङको संयोजकत्वमा मञ्चले प्रतियोगिता गर्न लागेको जनाएको हो । मञ्चका सल्लाहकार एकेन्द्र गुरुङ र मञ्चकी अध्यक्ष गौरी गुरुङ आयोजक समितिका पदेन सदस्यमा छन् ।

मञ्चका सल्लाहकार योगेश गुरुङले स्थापना गरेको अक्षयकोषबाट पुरस्कार वितरण गर्ने गरी मञ्चले कविता प्रतियोगितालाई निरन्तरता दिएको हो । खुला कविता प्रतियोगिताका प्रथमले १० हजार, द्वितीयले ७ हजार, तृतीयले ५ हजार र सान्त्वनाले ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा संसारभरका तमु कविले मात्र भाग लिन पाउने छन् । चैत्र २१ गते विहान प्रशिक्षण र दिउँसो पुरस्कार वितरणपछि सोही दिन मञ्चको नयाँ नेतृत्वसमेत चुनिनेछ ।

कार्यक्रम गर्न शनिबार बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ । अर्थ संकलन उपसमितिमा मञ्चकी कोषाध्यक्ष जसु गुरुङ संयोजक र महासचिव रोशनी गुरुङ र कार्यसमिति सदस्य प्रतिमा गुरुङ सदस्य छन् ।

मञ्च सजावट तथा व्यानर एवम् प्रमाणपत्र उपसमितिमा मञ्चका उपाध्यक्ष रोशन गुरुङ संयोजक र सदस्यद्धय सम्राट गुरुङ र तुल गुरुङ सदस्य छन् ।

अतिथि सत्कार उपसमितिमा कार्यसमिति सदस्य प्रतिमा गुरुङ संयोजक र सदस्यमा उमा गुरुङ र किरण गुरुङ छन् । प्रशिक्षण कार्यक्रम संयोजन गर्ने जिम्मेवारी अध्यक्ष गौरी तमूलाई दिईएको छ ।
बैठक मञ्चकी अध्यक्ष गौरी तमुको अध्यक्षतामा भएको थियो ।