मुनाल सहकारी बाह्रौं वर्षमा प्रवेश

पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको एघारौं वर्ष पुरा गरी बाह्रौं वर्षमा प्रवेश गरेको छ ।

सहकारीले आफ्नो बाह्रौं वार्षिक उत्सवको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई आर्थिक सहयोग प्रदान गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयद्धारा निर्माण भईरहेको कार्यालय भवनको निर्माण सहयोगार्थ रु पच्चिस हजार आर्थिक सहयोग उपलब्ध गराइएको संस्थाका अध्यक्ष दुर्गा प्रसाद हुमागाईले बताए । सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समितिका अध्यक्ष दिलिपराज श्रेष्ठलाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन । कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु, कर्मचारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधीको उपस्थिती रहेको थियो । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा यसरी नै विभिन्न सामाजिक कार्य गर्दै आईरहेकोे जनाएको छ ।

२०६५ माघ ०३ गते देखी कारोबार सञ्चालन गरेको यस सहकारीको कास्की जिल्ला भरी कार्यक्षेत्र रहेको छ । सहकारीले पोखराको नयाँबजार स्थित आफ्नै निजी भवनबाट आफ्ना सेयर सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।