पोखरेली कोसेली : टोपी, स्वेटर, गलबन्दी र झोला

महिला अधिकार र सामाजिक विकृति अन्त्यका लागि सक्रिय अञ्जु क्षेत्रीलाई अहिले फरक खालको व्यस्तता छ । पोखराको कोशेलीका रुपमा गलबन्दी, टोपी र स्वेटर उत्पादन गरी उनी बजारीकरणमा व्यस्त छिन् । दिउसो जनप्रतिनिधिको हैसियतमा पोखरा वडा नं. ५ मा व्यस्त हुने उनलाई बिहान र बेलुका पोखरेली कोसेलीको अर्डर लिन र पु¥याउन भ्याइनभ्याइ छ ।

झमझम वर्षाको परवाह नगरी बजारिकरण व्यस्त उनले भनिन्, ‘बाच्नका लागि केही गर्नु पर्छ नत्र हामीले अरुलाई भनेका कुरा आदर्शमात्र हुन्छन्, व्यवहारिक हुँदैनन् ।’ नारी जागरण केन्द्र कास्की संयोजकसमेत रहेकी क्षेत्रीले समृद्धिका लागि सबैले कुनै न कुनै उद्यम गर्नुपर्ने बताइन् ।

नेपाल भ्रमण वर्ष २०२० सुरु भइसेको छ । यसै सन्दर्भमा अन्जुले पोखराको कोशेलीका रुपमा नेपाली गार्मेन्ट उद्योगबाट उत्पादिन टोपी, मफलर, स्विटर, झोला उत्पादन र बजारीकरण गरिरहेकी छन् । उनी भन्छिन्, ‘नेपालले २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्यसहित भिजिट नेपाल २०२० मनाउँदै छ प्रत्येक नेपालीको सहभागिता र सहयोगविना यो सम्भव हुँदैन ।”

तिलोत्तमा नगरपालिका रुपन्देहीमा रहेको लिडास फेसन निटवेयर प्रालिले भ्रमण वर्ष प्रचारसँगै व्यावसायिक यात्रामा सिर्जनात्मक सुरुआत गरेको हो । लिडासले भिजिट नेपाल २०२० पोखरा र गण्डकी प्रदेशको लोगो कोसेली बजारमा ल्याएको छ ।

कम्पनीमा अञ्जुसहित ५ जनाको लगानी छ । यसअघि उनीसहित कम्पनीका प्रबन्ध निर्देशक इन्द्र खड्काकोले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पर्यटनमन्त्री विकास लम्साललाई भेटेर स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न आग्रह गरेका थिए । मुख्यमन्त्री गुरुङले सरकारी तवरबाट हुनुपर्ने काम निजी क्षेत्रले गरेको भन्दै गण्डकी सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न प्रतिवद्धता जनाएका थिए ।

पर्यटनमन्त्री लम्सालले भ्रमण वर्षको प्रसार र पर्यटकलाई उपहारका लागि यस्ता सामग्री निकै उपयोगी हुने विचार राखे । उनले गण्डकी सरकारले १ हजार गलबन्दी र १ हजार स्वेटर खरिद गरी सरकारका विभिन्न तहमा वितरण गर्ने प्रतिवद्धता जनाए ।

गण्डकी प्रदेशका सरकारी तथा गैरसरकारी निकाय र जनप्रतिनिधिले नयाँ ठाउँमा जाँदा कोसेलीको रुपमा यी सामग्री लैजाने गरेका छन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेशको लोगो अंकित सामान समय अनुसार जाडो र गर्मी दुवै सिजनका उत्पादन गर्ने तयारी भएको अञ्जुले जानकारी दिइन् । उनले भनिन्, ‘हामी समय सापेक्ष पोखराको र यो प्रदेशकै कोशेलीको रुपमा प्रयोग हुने सामग्री उत्पादन गर्छाैं ।’

आवश्यक परे पोखरामै उद्योग राखेर सञ्चालन गर्ने योजना पनि बनेको छ । ५ जनाको ७ करोड लगानीमा स्थापित लिडासमा ७० जनाले रोजगारी पाएका छन् ।

लिडासका उत्पादन अमेरिका, स्वीटजरल्यान्ड, वेलायत, अस्टेलियामा पनि पुगेका छन् । देशको भ्रमण वर्ष प्रवद्र्धन उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्ने कम्पनीको योजना छ ।