मुक्तिनाथ क्षेत्रमा भारी हिमपात

जोमसोम–मध्यमुस्ताङ क्षेत्रको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका देखि उत्तरी क्षेत्रको भु–भागमा बिहिबार राती देखि भारी हिमपात भईरहेको छ । हिमपातले अघिल्लो पटक परेको हिउँ ओभाउन नपाउदै थप हिउँ परेकाले कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध भएको हो ।

हिमपात संगै सडक अवरुद्ध भएपछि मुक्तिनाथ जाने स्वदेशी तिर्थालुहरु कागबेनी देखि मुक्तिनाथ सम्म महङ्गो शुल्क तिरेर घोडामा यात्रा गर्न बाध्य भएका छन् । यसअघिको हिमपातले मुक्तिनाथ सडकमा हिउँ जमेपछि हलुका फोर ह्वील सवारी साधन मात्र मुक्तिनाथ जानसक्ने अवस्था रहेकोमा शुक्रबार बिहान देखि कुनै पुरै सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । हिमपातसंगै कागबेनी देखि माथिको कालोपत्रे सडक २ फिट बढी हिउँले ढाकिएको हो ।

मुक्तिनाथमा केही नेपाली तिर्थालुले मुक्तिनाथको दर्शन गर्न घोडा मार्फत पुगे पनि राउण्ड अन्नपूर्ण पदमार्ग गर्ने पर्यटक र जोमसोम हुँदै मुक्तिनाथ जाने विदेशी पर्यटक मुक्तिनाथ चेकपोष्टमा ईन्ट्रि नभएको पर्यटन सहायक प्रेम बस्नेतले जानकारी दिए ।

मुक्तिनाथ बजारक्षेत्रमा स्थानीय सर्वसाधारणको घुडाँ सम्म आउने हिउँ थुप्रिएको मुक्तिनाथका स्वास्थ्यकर्मी तारानाथ अधिकारीले जानकारी दिए । हिमपातले मुक्तिनाथका डाढाँकाढाँ सेताम्मे बनेको छ भने मुक्तिनाथ मन्दिर अगाडीको कुण्ड र धारा सबैमा बाक्लो हिउँ जमेको छ

स्वास्थ्यकर्मी अधिकारीले भने,‘ दिन ढुम्म छ । हिउँ परिरहेको छ ,घुडाँ भन्दा माथि ढाकिने हिउँ थुप्रिएको छ । बाहिर निस्कन समेत सकस छ ।’ उनले मुक्तिनाथमा ३ फिट बढी हिउँ परेको उनले बताए ।

मुक्तिनाथमा हिउँ परेपछि त्यहाका पर्यटन व्यवसायी तथा स्थानीय घर बाहिर निस्किएका छैनन् । व्यवसायीले सडक छेउमा गर्ने समथिङ व्यापार समेत प्रभावित बनेको छ । बिद्युत र संञ्चार सेवा समेत नियमति र भरपर्दो बन्न नसकेको स्वास्थ्यकर्मी अधिकारीले उल्लेख गरे ।

हिमपात भएपछि शुक्रबार मुक्तिनाथ मन्दिर सुनसान बन्यो भने तिर्थालुको उपस्थिती कम भएको अधिकारीले जानकारी दिए । उनले मुक्तिनाथ सडक सूचारु गर्न अब डोजर परिचालन नगरी संम्भव नभएको बताए । हिमपातले स्थानीयको दैनिकी र पशुपालनमा समस्या परेको छ भने मुक्तिनाथमा हिमपात भएसंगै मुक्तिनाथमा साहशिक खेल स्की खेल्ने बाटो खुलेको उनको बुझाई छ । मौसम खुलेपछि हिउँ हेर्ने पर्यटक बढ्ने उनले जनाए ।
तस्विर : तारानाथ अधिकारी/मुक्तिनाथ