माघ ३ गते २०७६

ताजा समाचार

माघ ३ गते २०७६

पोखरा १५ मा मेलमिलाप केन्द्र

पोखरा १५ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । पोखराकी उपमेयर तथा न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले शुक्रबार केन्द्र उद्घाटन गरिन् ।

उनले न्यायिक समितिले आफ्नो क्षेत्र अधिकारभित्र बसेर न्याय सम्पादन गर्ने बताइन् । महानगर र गाँउपालिकालाई एउटै प्रकृतिका विवाद दिँदा समस्या भएको उनले बताइन् । उनले महानगरपालिकामा हुन जुनजुन मापदण्ड कायम गरिएको हुन्छ, त्यही आधारमा विवाद हेर्न पाउने कानुनी व्यवस्था हुनुपर्ने बताइन् । उनले न्याय सम्पादन गर्दा निष्पक्ष, तटस्थ र स्वतन्त्र रुपमा गर्नुपर्नेमा उनको जोड थियो ।

न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समिति गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी दिए । उनले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताए ।

पोखरा १५ का अध्यक्ष प्रकाश पौडेलले वडाका विवाद समस्या समाधानमा सहज हुने विश्वास व्यक्त गरे । अहिले सम्म १ सय १९ वटा विवाद दर्ता भएको र केही समाधान गरिएको उनले बताए । न्यायिक समिति सदस्य पार्वती कार्कीले वडा तहका विवादलाई मेलमिलापमार्पmत समाधान गर्दा सामाजिक सद्भाव कायम हुने बताइन् ।

वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रकाश थापाले सामान्य विवाद वडा तहबाटै समाधान हुने अवस्थाले प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने प्रक्रियामा सहज हुने बताए । मेलमिलापकर्ता गणेश आलेले कुनै प्रभाव र दबाबमा नपरी मेलमिलापबाट विवाद समाधानमा लाग्ने प्रतिबद्धता लगाए ।
पोखरा १५ का अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमम सञ्चालन महानगर कानुन महाशाखाका कानुन अधिकृत राममणि अधिकारीले गरेका थिए ।

न्यायिक समितिले महागनरका ३३ मध्ये २० वटा वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । महानगरमा १७४ जना मेलमिलापकर्ता सुचिकृत भएका छन् ।