“भुकम्पबाट सुरक्षित पुर्वाधार , दिगो सुख र समृद्धिको आधार “ भन्ने मुल नाराका साथ २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस गण्डकी प्रदेशको राजधानी पोखरामा पनि विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ ।
गण्डकी प्रदेश सरकारको आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रमहरु अन्तर्गत आज अर्थात माघ(०२ गते विभिन्न सचेतानामुलक नारा सहित प्रभात फेरी कार्यक्रम गरिएको छ । प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री माननिय हरि बहादुर चुमान समेत सहभागी भएको उक्त प्रभात फेरीमा नेपाल प्रहरी ,शसस्त्र प्रहरी बल,लगायत अन्य सरोकारवाला निकायका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
पोखराको सृजनाचोकबाट सुरु भएको प्रभात फेरी जिल्ला समन्वय समिती कास्कीको सभाहलमा पुगी कोण सभामा परिणत भयो साथै गमलामा पानि हालेर प्रमुख अतिथी आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले कार्यक्रमको उद्घाटन गरेका थिए ।
सोहि अवसरमा जिल्ला समन्वय समिती कास्कीकै प्राङगणमा प्रदर्शन एवम् अध्ययन अवलोकनका लागि राखिएका नेपाल प्रहरीका भुकम्पिय सुरक्षा तथा उद्धार सामाग्रीहरुको प्रमुख अतिथी आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले अवलोकन गर्नुका साथै विभिन्न उद्धार सामाग्रीहरुको विषयमा जानकारी समेत लिएका थिए। साथै नेपाली सेना शसस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाईटी लगायतले राखेका उद्धार सामाग्रीहरुको समेत मन्त्री चुमानले अवलोकन गरे ।
कार्यक्रममै भुकम्प लगायतका अन्य प्रकोपहरुको उद्धारमा नेपाल प्रहरीको भुमिका साथै जनधनको क्षती न्युनिकरणका लागि नेपाल प्रहरीले गर्ने विविध गतिविधिहरुको वियषमा भिडियो प्रसारण समेत गरिएको थियो ।




