माघ ३ गते २०७६

ताजा समाचार

माघ ३ गते २०७६

मौषमले आँखै खोलेन, पोखरा अन्धकारमय, भारी वर्षाको संकेत

पोखरामा ३ दिनदेखि निरन्तर झरी परिरहेको छ । माघ १ गते साँझदेखि पानी पर्न शुरु गरेको थियो । बिहीबार दिनभर भरि परिरह्यो ।

आज शुक्रबार पनि मौषम खुल्ने संकेत छैन । बिहान ९ बजे यो समाचार तयार पारिरहँदा पानी परिरहेको छ । पोखरा निकै अन्धकारमय भएको छ ।

वाहिरी वातावरणले गर्दा घरभित्र वत्ति बाल्नुपर्ने अवस्था सृजना भएको छ । मौषमले भारी वर्षा हुने संकेत गरेको छ । शनिबारसम्म यस्तै रहने र शनिबार साँझदेखि सुधार हुने मौषम विभागले जनाएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा वर्षासँगै भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बुधबार रातिबाटै रहेको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ३ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ ४ गते (शनिबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने सम्भावना रहेको छ।

माघ ५ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

भिडियोमा पनि हेरौं