रिसको आवेगमा वेद पढिँदैन :आस्था राउत

फेसबुकमा प्रहरीविरुद्ध राखेको धारणाप्रति गायिका आस्था राउतले माफी मागेकी छिन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङका क्रममा महिला प्रहरीले आफूमाथि अपमानित व्यवहार गरेको आरोप लगाएकी हुन् ।

भद्रपुरमा ओर्लिनासाथ उनले गाडीबाटै फेसबुक लाइभमा प्रहरीलाई ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो रु’ भन्दै आस्थाले प्रश्न गरेकी छिन् । उनले प्रहरी संगठनलाई ठूलाहरुले नै शुद्धिकरण गर्दै अनुशासन र नैतिकताको शिक्षा दिनुपर्ने बताएउदै ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी थिइन्।

गायिका राउतले प्रहरीले आफूमाथि अनमान गरेको भन्दै आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएपछि आस्था राउतले माफी मागेकी हुन् ।

उनले फेसबुकमा रिसको आवेगमा आएर त्यसो भनेकोमा क्षमायाचना गरेकी छिन्। उनले फेसबुकमा भनेकी छिन्,‘रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो। नचाहिँदो शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु। प्रशासनको व्यस्त कामहरुलाई म सँधै आदर गर्छु। तर सर्वसाधारणहरुसँग बोल्दा तुक्ष व्यवहार नगरियोस्। तँ तँ र म म गर्न बन्द गरियो। नैतिक शिक्षाको कमी नरहोस्। सम्मान दिनुपर्छ सम्मान लिनुपर्छ।’

यता गायिका राउतको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले आफूले पनि उक्त भिडियो हेरेको बताउदै घटनाबारे छानविन प्रक्रिया अगाडि बढाइसकिएको जानकारी समेत दिएका छन् ।