प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ।
पाँचखाल नगरपालिका–७ होक्सेका ३० वर्षीय परियारलाई गत साल फागुन १० गते भुम्लु गाउँपालिकास्थित एनसेल टावरमा आगजनी गरेको अभियोगमा प्रहरीले मंगलबार मुद्दा दायर गरेको हो। परियारलाई सार्वजनिक सम्पत्तिमा नोक्सानी पु¥याएको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
प्रहरीले परियारलाई विशेष सूचनाका आधारमा बा ८१ प ३२ नम्बरको मोटरसाइकलमा बनेपा नगरपालिकास्थित गोदाम चोकबाट सोमबार साँझ पक्राउ गरेको थियो। परियार केही वर्षअघि गुडिरहेको यात्रुवहाक बसमा आगो लगाएर सर्वसाधारणको ज्यान लिन खोजेको अभियोगमा केही महिना जेल बसेर निस्केका थिए।






