रेडक्रस पोखरा १७ उपशाखाको सभा

नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाको १५ औं वार्षिक साधारणसभा मंगलबार भएको छ । सभामा नेपाल रेडक्रस सोसाइटी कास्की शाखा सभापति डोलराज पाण्डेले रेडक्रसले निष्पक्षत भएर विपद् व्यवस्थापन र मानवीय सेवामा काम गर्दै आएको बताए । रेडक्रसकर्मी मानवीय पीडा कम गर्न निरन्तर लागिपर्नु पर्नेमा उनले जोड दिए ।

पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य राधिका शाही योगीले विश्वभर सञ्जाल रहेको रेडक्रसले प्रशंसनीय काम गरिरहेको बताइन् । उनले पोखरा १७ उपशाखाको भवन निर्माण गर्न सबैै सदस्यको योगदान रहेको स्मरण गरिन् ।

सभामा उपशाखा सचिव हरिप्रसाद लम्सालले प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्ययोजना परेश गरे । कोषाध्यक्ष विजयकुमार शाहीले पेश गरेको आर्थिक प्रतिवेदन तथा प्रस्तावित आयव्यय विवरण सभाले सर्वसम्मत पारित गरेको छ ।

उपशाखाका सभापति झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपशाखाका सल्लाहकार क्या. खडकबहादुर शाही, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति उपाध्यक्ष ईश्वरीप्रसाद लम्साल, गुप्तेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष डा. टंकराज अधिकारी, उपकोषाध्यक्ष लक्ष्मी अधिकारी, उपसभापति हरिप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।