पोखरा महागनरपालिका वडा नम्बर ५ र ६ मा मेलमिलाप केन्द्र स्थापना भएका छन् । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै सुल्झाउन केन्द्र स्थापना गरेको हो ।
दुवै केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले सुरुआत गरिन् । उपप्रमुख गुरुङले न्याय प्रदान गर्ने विषय कठिन रहेको बताइन् । उनले न्याय सम्पादन गर्दा निष्पक्ष, तटस्थ र स्वतन्त्र रुपमा गर्नुपर्नेमा जोड दिइन् । उपप्रमुख गुरुङले विवाद समाधानको उत्तम विकल्प मेलमिलाप भएको विचार राखिन।
आस्थाका आधारमा पूर्वाग्रह राखेर नभई विवादका पक्षको मन मिलाउने गरी मेलमिलाप गर्नुपर्नेमा उनले जोड दिइन् । उपप्रमुख गुरुङले अदालतमा मुद्दामा जादा निवेदन लेखनबाटै आर्थिक भार पर्ने बताउँदै उनले भनिन्, ‘महानगरमा १ सय रुपैयाँमा न्याय सम्पादन हुन्छ । निवेदन दर्ता गर्न १ सय रुपैयाँ लाग्छ, त्यसपछि कुनै शुल्क लाग्दैन ।’
न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समितिको गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा प्रकाश पारे । पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले वडामा सकेसम्म विवाद नहोस् र भएपनि वडा तहबाटै समाधान गर्नुपर्ने बताए ।उनले निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न मेलमिलापकर्तालाई आग्रह गरे ।

वडा नम्बर ६ मा वडा अध्यक्ष जगतबहादुर पहारीले मेलमिलाप सद्भाव र न्यायको उत्तम माध्यम भएको बताए ।पोखरा ६ मा भएको कार्यक्रममा नेपाली कांग्रेस वडा सभापति बलराम गिरी, मेलमिलापकर्ता पम्फा पहारी, नागरिक समाज पोखरा अध्यक्ष विष्णुहरि अधिकारी लगायतले बोलेका थिए ।
पोखरा ५ मा भएको कार्यक्रममा नेकपा पोखरा ५ का गायत्री भुर्तेल, नेपाली कांग्रेस ५ का प्रतिनिधि झोला पराजुली, मेलमिलापकर्ता सृजना शाह, महानगर कानुन महाशाखाका कानुन अधिकृत राममणि अधिकारीले बोलेका थिए ।
न्यायिक समितिले महागनरका ३३ मध्ये १७ वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ ।महानगरमा १७४ जना मेलमिलापकर्ता सूचीकृत भएका छन् ।






