पौष २९ गते २०७६

ताजा समाचार

पौष २९ गते २०७६

पोखरा महोत्सव पोखराकै पहिचान : थापा



पोखराको अमरसिंह स्कुलको खेल मैदानमा मंगलबारबाट पोखरा महोत्सव सुरु भएको छ । शान्तबहादुर थापा युनाइटेड क्लब पोखराका महासचिव हुन् । उनी क्लबले पुस २९ देखि आयोजना गरेको पोखरा महोत्सवको प्रचारप्रचार संयोजक पनि हुन् । महोत्सवको औचित्य र क्लबका गतिविधिबारे थापासँग गरिएको कुराकानी :

युनाइटेड क्लबले पोखराको नाम राखेर महोत्सव आयोजना गरेको छ । यसको औचित्यचाहिँ के हो ?
२०६७ वैशाख ७ गते सामाजिक मनोभावना भएका केही मानिसले बनाएको स्वयंसेवी संस्था हो युनाइटेड क्लब । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गरी सामाजिक र मानवीय सेवामा हामी निरन्तर समर्पित छौं ।

यो जनताको महोत्सव हो । स्वयंसेवी संस्था आयोजक भएकाले जनताको पैसा हामी जनतालाई नै फिर्ता गर्छाैं । महोत्सव आयोजना गर्न महिला समूह, टोल विकास संस्था, उद्योगी, व्यवसायी, शुभेच्छुकक सबैको साथ छ । १० औं महोत्सवसम्म आइपुग्दा हामीले दर्शकको अगाध माया र साथ पाएका छौं । युनाइटेड क्लबले आयोजना गरे पनि यो सबै पोखरेलीको महोत्सव हो । सबै पोखरेलीको संवेदना, इच्छा र आकांक्षा हामीले समेटेका छौं ।

महोत्सवको आम्दानी कसरी सर्वसाधारणलाई नै फिर्ता गरिँदै छ त ?

अमरसिंह माविको खेल मैदान पुस २९ देखि माघ १२ गतेसम्म यसपालिको पोखरा महोत्सव हुँदै छ । हामीले अहिलेसम्म पोखरा जियोलोजिकल पार्कलाई ५५ लाख ८५ हजार प्रदान गरेका छौं । हरेक वर्ष बचत रकमको २० प्रतिशत यसका लागि लगानी गर्दै आएका छौं ।

सेती नदी बचाऊ अभियानमा पनि रकम खर्च हुन्छ । ग्रामीण भेगमा शिक्षाबाट बञ्चितलाई शैक्षिक सामग्री, छात्रवृत्ति प्रदान, स्वास्थ्य शिविरहरु पनि क्लबले गर्ने गरेको छ । महोत्सवकै बचतबाट हामीले दर्जनौं स्कुलमा अक्षय कोष स्थापना गरेका छौं । कमजोर आर्थिक अवस्था भएका सयौं विद्यार्थीले हाम्रो साथ पाएका छन् ।

हामी महोत्सवबाट भिजिट नेपाल २०२० लाई सघाउन विभिन्न गतिविधि गर्दै छौं । कास्की र आसपासका जिल्लाका होमस्टेहरुलाई मेलामार्फत् प्रवद्र्धन गर्छाै । उनीहरुलाई स्टल निशुल्कको व्यवस्था गरेका छौं । यही क्षेत्रका उद्योगका उत्पादनलाई प्राथमिकता दिएका छौं ।

महोत्सव भन्ने बित्तिकै मनोरञ्जनात्मक कार्यक्रमको प्रधानता हुन्छ, यसपालि कस्ता सांस्कृतिक आकर्षण छन् ?
हरेक वर्षका महोत्सवमा नयाँ कार्यक्रम गर्ने परम्परालाई कायम राख्ने यसपालि मौलिक लोकसंस्कृति प्रवद्र्धन गर्न सामूहिक विद्यालय स्तरीय लोकनृत्य आयोजना गरेका छौं । चर्चित कलाकारको प्रस्तुतिसहित स्थानीय कलाकारलाई पनि दर्शकले सुन्न पाउने छन् ।

नेपाली संस्कृति झल्किने तरेली सांस्कृतिक परिवारको प्रस्तुति रहनेछ । विद्यार्थीलाई अध्ययनमा उत्प्रेरणा जगाउन दण्डरहित शिक्षा आजको आवश्यकता जस्ता डकुमेन्ट्री पनि प्रदर्शन गरिनेछ ।

तपाईहरुले आफ्ना लागि चुनौति चाहिँ के देख्नुभएको छ ?
हरेक वर्ष हामीलाई चुनौती थपिएको छ । यो ऐतिहासिक ब्रान्ड टिकाइराख्न हामी यथाशक्य प्रयत्न गर्छाैं । हामी प्रदूषणरहित प्रचारप्रचार गरिरहेका छौं । सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सार्वजनिक गाडीबाट प्रचारप्रचार गरेका छौं । यो क्षेत्रका उत्पादन, कला, संस्कृति र सम्पदा प्रवद्र्धन गर्दै स्वस्थ मनोरञ्जन दिने महोत्सवलाई यसपालि पनि सबैको साथ मिल्ने हाम्रो अपेक्षा छ ।

महोत्सवको अवधि किन थप गर्नुभयो ?
युवाको जाँगर, राष्ट्र निर्माणको आधार भन्ने उद्घोषका साथ मेला आयोजना गरिएको हो । मेलाबाट शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा योगदान गर्ने हाम्रो लक्ष्य हो । महोत्सवको १० औं संस्करणसम्म आईपुग्दा यसपालि सबैभन्दा बढी अवधि महोत्सव चल्ने भएको छ ।

२०६७ वैशाख ७ गते दर्ता भएको युनाइटेड क्लब पोखराले यो उपत्यकाभित्र खुला चिडियाखाना निर्माणका लागि अगुवाइ गरेको छ । नेपालजस्तो देशमा अझै बालबालिका शिक्षाको अवसरबाट बञ्चित छन् । कतिपय बालबालिका विद्यालय गए पनि आवश्यक स्टेसनरी, पोशाककै अभाव खेपिरहेका छन् । उनीहरुलाई सघाउन क्लबले करिब दर्जन स्कुलमा अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषबाट छात्रवृत्ति र स्टेसनरी पाएर गरिब तथा जेहेन्दार बालबालिकाले शिक्षाको उज्यालो अनुभव गरिरहेका छन् ।

विद्यार्थी शिक्षक र अभिभावकलाई माघ ३ देखि १० गतेसम्म कखरा नामको डकुमेन्ट्री देखाउँदै छौं । स्वास्थ्य नै धन हो भन्ने भनाइ छ । स्वस्थ नागरिक बिना विकास र समुन्नित सम्भव छैन । क्लबले ११ जना कमजोर आर्थिक अवस्था भएका बिरामीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । यस्तै विभिन्न ग्रामीण भेगमा निशुल्क शिविर पनि आयोजना गर्दै आएका छौं ।

विपद् व्यवस्थापन र सेती संरक्षणका लागि चाहिँ क्लबले के गरेको छ ?
हामीले विपद् व्यवस्थापन र सेती नदी संरक्षणमा पनि योगदान गर्दै आएका छौं । सेती संरक्षणबारे अन्तक्रिर्या ग¥यौं भने महोत्सवमा प्रति टिकट रु १ छुट्याएर सेती संरक्षण उपसमिति नै बनाइएको छ । उपसमितिले सरसफाइ र ४ वटा सिसी क्यामेर राखेका छौं । पोखरा र नेपालकै विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका छ ।

पोखराको पर्यटन प्रवद्र्धन गर्न क्लबले खुला चिडियाखाना निर्माण थालिएको छ । क्लबले यसका लागि ५५ लाख हस्तान्तरण गरिसकेको छ ।

महोत्सवमा अन्य आकर्षण के छन् ?
राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति, लाइभ कन्सर्ट, हास्य व्यंग्य प्रस्तुति, राष्ट्रिय भलिबल प्रतियोगिता, नेपाली संस्कृति झल्किने नृत्य, हस्तकलाका उत्पादन प्रदर्शनी र बिक्री, विभिन्न जातजातिका कला, संस्कृति प्रदर्शनी, विद्यालय स्तरीय खुला लोक नृत्य प्रतियोगिता, निशुल्क शिविर आदि महोत्सवका आकर्षण हुन् ।

महोत्सवबाट नेपाली कला, संस्कृतिको प्रवद्र्धनसहित स्वदेशी उत्पादनलाई प्रवद्र्धन र उपभोक्तालाई सुलभ तवरले वस्तुहरु उपलब्ध हुनेछन् । यो महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि टेवा पु¥याउने हाम्रो विश्वास छ ।