गौतमबुद्ध क्रिकेट रंगशालालाई एनप्याब्सान कास्कीको सहयोग

नेसनल प्याब्सान कास्कीले २२ औं स्थापना दिवसको अवसरमा धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छ ।

एनप्याब्सानले स्थापना दिवसकै दिनमा चितवनको रामपुर पुगी कास्की अध्यक्ष हेमन्त अधिकारीले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एनप्याब्सानका केन्द्रीय नेताहरु र एनप्याब्सान कास्कीमा आवद्ध विद्यालयका संस्थापकहरुको उपस्थिति थियो

उक्त अवसरमा कास्की मोडनाइज्ड एकेडेमीका संस्थापक प्रिन्सिपल रामबहादुर मोचीले विद्यालयको तर्फबाट ५१ हजार १ सय ११ रुपैयाँको चेक फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई हस्तान्तरण गरे । फाउन्डेसनका अध्यक्ष कट्टेलले जनस्तरबाटको सहयोगले नै रंगशाला निर्माण गर्न लागेको बताए ।

‘कास्कीबाट यहाँसम्म आएर तपाईहरुले गरेको सहयोगले हामीलाई उत्साह थपेको छ,’ कट्टेलले भने, ‘हामी यहाँ ७७ वटै जिल्लाका संस्कृति झल्कने गरेर ७७ वटै कोठा निर्माण गर्न लागेका छौं, कास्कीबाट आएको सहयोग कास्की कक्षमा नै देखिनेछ त्यसैले कास्कीबाट अझै धेरै सहयोगको अपेक्षा गरेका छौं ।’

खेलले सबैलाई जोड्ने भएकाले रंगशाला निर्माणमा सबैको सहयोगको अपेक्षा गरेको उनले सुनाए । ‘म एउटा कलाकारसँग अभियान्ता बनेर हिँडेको छु,’ उनले भने,‘ म यो देशको नागरिक भएकाले विकास निर्माणमा एउटा ईंट्टा थप्ने प्रयास मात्रै गरेको हुँ, मलाई केही स्वार्थ छैन , नेपालका नागरिकको सहयोगबाट नै रंगशाला निर्माण हुने हो ।’

एनप्याब्सान कास्की अध्यक्ष हेमन्त अधिकारीले धुर्मुस सुन्तली फाउन्डेसनले गरेको महान कार्यबाट प्रभावित भएर एनप्याब्सान कास्कीले रंगशाला निर्माणमा सहयोग गरेको जानकारी दिए ।
यसैगरी स्थापना दिवसकै अवसरमा चितवनको सौराहमा विद्यालय व्यवस्थापन र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिइएको थियो । उक्त अवसरमा प्रशिक्षक बोलारम पाण्डेले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा एनप्याब्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, गण्डकी प्रदेशका संयोजक याम खड्का, कास्कीका निवर्तमान अध्यक्ष रामबहादुर मोचीले बोलेको सचिव मनकाजी गुरुङले बताए ।