पोखरा, बिरौटाको जनजागरण आमा समूहले नयाँ भवन बनाएको छ । प्रदेश सांसद रामजी बराल भवन उद्घाटन गर्दै महिलाले उद्यममा ध्यान दिन सक्नुपर्ने बताए ।
समूहको दोस्रो साधारण सभामा सांसद बरालले प्रत्येक घरका नागरिकले उद्यमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । समूहले १३ लाख ८ हजार ७ सय १८ रुपैयाँ लागतमा भवन बनाएको हो ।
पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले उज्यालो वडा बनाउने अभियानमा आफू क्रियाशील भएर लागेको बताए । महानगरका वडामध्ये भूगोलले ठूलो वडा भए पनि खानेपानी, बाटो लगायत विकास निर्माणमा कुनै समस्या नरहेको अध्यक्ष अधिकारीले बताए ।
जनजागरण टोल विकास संस्थाका सचिव यमप्रसाद पौडेलले टोलबासीको एकताले धेरै महत्वपूर्ण विकासका काम सहज भएको बताए । भवन निर्माण समितिका संयोजक देवी थापाले टोलमा कुनै कार्यक्रम गर्नुपरे बाटो र अर्काको जमिनमा बस्नुपर्ने बाध्यता हटेको भन्दै टोलबासी सम्पूर्णको आर्थिक सहयोगमार्फत् भवन निर्माण भएको बताईन् ।
समूहले आर्थिक सहयोग गर्ने दातालाई प्रमाणपत्रसहित सम्मान गरिएको अर्थ संकलन समिति संयोजक विश्वास भण्डारीले जानकारी दिए । समूहकी अध्यक्ष नन्दकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भगवती रेग्मी, सचिव दीपा शर्मा, कोषाध्यक्ष कल्पना पौडेल बराल लगायतले बोलेका थिए ।






