पोखरा १९ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।
केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले आइतबार सुरुआत गरिन् । उनलेमेलमिलापमार्फत विवाद समाधान गर्दा समाजमा सद्भाव कायम हुने बताइन् । मुद्धाले समाजमा शान्ति र सद्भावभन्दा बदलाको भावना जागृत गराउने भएकाले स्थानीय तहका न्यायिक समिति र वडामा मेलमिलाप केन्द्रको परिकल्पना गरिएको उनले बताइन् ।
उपप्रमुख गुरुङले स्थानीय तहमै विवाद समाधान गर्दा पैसा र समय दुवै बचत हुने भएकाले यो विवाद समाधानको उत्तम विकल्प भएको उल्लेख गरिन् । आफैंले जिताएका जनप्रतिनिधिमार्फत वडा तहबाटै विवाद समाधान गर्न जनताले सहज महसुस गर्ने उनको अनुभूति छ । महानगरले महिलालाई निशुल्क कानुनी परामर्शको व्यवस्थासमेत गरेको छ । उनलेमहिलालाई आत्मनिर्भर रसक्षम बनाउन उपप्रमुखसँग महिला कार्यक्रम ल्याएको जानकारी दिइन्
न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समितिको गठन, क्षेत्राधिकार, हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराए । न्यायिक समितिले १३ थरी विवाद फैसला गर्न पाउने र ११ विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था छ । न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम, कर्तव्य र अधिकारबारे उनले जानकारी गराए ।
समितिका अर्का सदस्य पार्वती कार्कीले छिटो न्याय सम्पादन गर्नका लागि मेलमिलाप केन्द्र सहयोगी भएको बताइन् । पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले पोखरा महानगरपालिका न्याय सम्पादनमा अन्य स्थानीय तहभन्दा अब्बल रहेको बताए । उनले मेलमिलापकर्ता समाजिक कार्यकता भएकाले सामाजिक सेवालाई आर्थिकसँग जोडन नहुने उल्लेख गरे ।
कार्यक्रममा मेलमिलापकर्ता तुलसीप्रसाद गौतम, नेकपा पोखरा १९ अध्यक्ष विष्णु गौतम, नेपाली कांग्रेस पोखरा १९ सभापति महेश्वर पौडेल, कानुन महाशाखाका कानुन अधिकृत राममणि अधिकारी लगायतले बोलेका थिए ।
न्यायिक समितिले महागनरका१५ वटामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । महानगरमा १ सय ७४ जना मेलमिलापकर्ता सूचिकृत भएका छन् ।






