नेपाल चिनाउन थाइल्यान्डमा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

भिजिट नेपाल २०२० लाई लक्षित गरी थाइल्यान्डको बैंककमा नेपाली कलाकारको अन्तर्राष्ट्रिय सामूहिक चित्रकला प्रदर्शनी हुने भएको छ । बुद्धिज एटेलियरको आयोजना र उज्ज्वल आर्टस्को सहआयोजनामा प्रदर्शनी हुन लागेको हो ।

नेपालको सुन्दरता, संस्कृति र परम्परा कलामार्फत उजागर गरी नेपाल भ्रमण वर्षलाई विदेशमा प्रचारप्रचार गर्न प्रदर्शनी आयोजना गरिएको सञ्चालक हेमकान्ति गुरुङले बताइन् । बिजनेस हब थाइल्यान्ड एसिया र युरोपका धेरै पर्यटकले भ्रमण गर्ने भएकाले उनीहरुलाई लक्षित गरी प्रदर्शनी आयोजना गरिएको उनले बताइन् ।

इम्ब्रेस नेपाल शीर्षकमा मार्च ६ देखि ८ सम्म हुने प्रदर्शनीमा पानीरंग वा अरु रङबाट बनाइएका ४० वाई ३० सेमीका कलामात्र यसमा समावेश गरिनेछ । सबै चित्र इम्ब्रेस नेपाल शीर्षकलाई प्रतिनिधित्व गर्न सक्ने खालका हुनुपर्ने छ ।

प्रदर्शनीमा सहभागी हुन चाहने कलाकारले फेब्रुअरी २ भित्र चित्रका फोटो आयोजकलाई पठाउनुपर्ने छ । प्रदर्शनी, प्रमाणपत्र र क्याटलगका लागि १ सय ५० अमेरिकन डलर कलाकारले तिनुपर्ने छ । ७ दिनको यात्रा टिमसँग गर्न चाहनेले ५ सय ५० डलर तिर्नुपर्छ । प्रदर्शनीसहित होलिडे टुरमा सहभागी हुनेले भने ७ सय डलर तिर्नुपर्ने छ । व्यक्तिगत तवरमा थाइल्यान्ड गएर ३ दिने प्रदर्शनीमा आफ्ना कला समावेश गर्न चाहने कलाकारले भने २ सय डलर तिर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा रसिया, भियतनाम, भारत, माल्टा र थाइल्यान्डका कलाकारका कला पनि समावेश हुने आयोजकले जनाएको छ ।

बुद्धिज एटेलियर २ दशकदेखि क्रियाशील पोखराका एक पुरानो स्टुडियो हो । बालबालिकालाई पेन्टिङ प्रशिक्षण र कलाकार बन्न चाहनेलाई वाटरकलरको प्रशिक्षण पनि यसले दिँदै आएको छ । धेरै कलाकार उत्पादन गरिसकेको यो स्टुडियो मिनि वाटरकलर स्कुलको रुपमा चिनिएको छ । यसले फेसेज अफ नेपाल, पूर्ण मिलन, भाइब्स अफ हार्ट लगायतका थिममा यसअघि अनेकौं प्रदर्शनी आयोजना गरिसकेको छ ।