संगीको मुक्तिनाथ महाकाव्य लोकार्पण

नेपालको प्रमुख धार्मिक तीर्थस्थल मुक्तिनाथको बारेमा वर्णन गरिएको ‘मुक्तिनाथ महाकाव्य’ पोखरामा लोकार्पण गरिएको छ । महाकाव्यको रचना महाकाव्यकार एवं कवि रामनाथ अधिकारी ‘संगी’ ले गरेका हुन् ।

राष्ट्रिय धर्मसभा नेपाल जिल्ला शाखा कास्कीद्वारा आयोजित कार्यक्रममा वेदगुरु एवं पोखरा चिसाखोला वेद विद्याश्रमका संरक्षक अग्निहोत्री पं. केदारनाथ तिमिल्सिना उपाध्यायले गरेका थिए ।

उक्त अवसरमा उनले धर्मले नै सबैको रक्षा गर्ने भएकाले कसैमाथि कुभलो चिताउनु, नराम्रो सोच्नु ठूलो पाप भएको बताए । उनले महाकाव्यकार संगीले पुण्य भूमि तथा पुण्य तीर्थस्थल मुक्तिनाथको बारेमा वर्णन गरेर एउटा इतिहास रच्न सफल भएको स्पष्ट पारे ।

उनले भने, ‘मुक्तिनाथको प्रचार गर्ने प्रयत्न गरेर रामनाथले ठूलो धर्म गरे ।’ नेपालको धर्ममाथि चौतर्फी प्रहार हुन थालेको भन्दै उनले धर्मको रक्षा गर्न सबै लाग्नुपर्ने खाँचो औंल्याए ।

कृतिमाथि समीक्षा गर्दै साहित्यकार एवं समीक्षक असफल गौतमले कृतिकार आफै खुला किताव भएको भन्दै उनको चर्चा गर्न सम्भव नहुने बताए । उनले मुक्तिनाथ जस्तो पवित्र भूमिको चर्चा गर्न कृतिकार संगीले ठूलो हिम्मत गरेको बताए ।

कार्यक्रममा विश्व हिन्दू महासंघका उपाध्यक्ष शंकर खरालले धर्मको कुरामात्र गरेर रक्षा नहुने भन्दै संकीर्ण सोंच परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा साहित्यकारहरू वेदनीधि शर्मा, प्रा.डा. कुशुमाकर न्यौपाने, प्रा.डा. रविलाल अधिकारी, डा. कृष्ण भण्डारी ‘मुमुक्षु’, माधव वियोगी, जानुका चालिसे, बलराम तिमिल्सिना, हेरम्वप्रसाद कोइराला लगायतले बोलेका थिए ।

राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष कृष्णप्रसाद चापागाइँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ठाकुर बरालले स्वागत र प्रवक्ता जमुना सुवेदीले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा मुक्तिनाथ क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्वप्रधानपञ्च शरेप गुरुंगलाई सम्मान गरिएको थियो ।

महाकाव्यकार संगीको प्रकाशितमध्ये छैटौं महाकाव्य हो । उनीद्वारा रचित श्रीस्वस्थानी महाकाव्य, मनीराज महाकाव्य, माधव महाकाव्य, श्रीपति महाकाव्य, हेरम्व महाकाव्य प्रकाशित भैसकेका छन् ।

उनीद्वारा रचित देवराज, बलराम, मनकामना, महादेव, कामराज, भगवती, अकला र सत्यसाई, श्रीगाणेश प्रकाशोन्मुख महाकाव्य छन् । उनका कविता संग्रह, लोककाव्य, लघु उपन्यास, भजन, पूजा विधान लगायत २ दर्जन भन्दा बढी कृति प्रकाशित छन् ।

३६४ पृष्ठमा प्रकाशित मुक्तिनाथ महाकाव्यमा १८ सर्ग समावेश छ । महाकाव्यमा २२ वटा छन्द प्रयोग गरिएको छ । मुक्तिनाथ उत्पत्तिदेखि कालीगण्डकीमा स्थापित तीर्थस्थलहरू कागवेनी, गलेश्वर, बाग्लुङ कालिका, रुरुक्षेत्र, राम्दी, वेदव्यास गुफा, दमौली, देवघाट र त्रिवेणीधामको चर्चा महाकाव्यमार्फत गरिएको छ । महाकाव्य प्रा. डा. बलराम उपाध्याय रेग्मीले प्रकाशन गरेका हुन् ।