ताजा समाचार

पौष २६ गते २०७६

राष्ट्रकवि माधवप्रसाद घिमिरिको गीति नाटक ‘अश्वत्थामा’ लोकार्पण

हिन्दी भाषामा अनुवाद गरिएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीति नाटक ‘अश्वत्थामा’ लोकार्पण गरिएको छ ।

विश्व हिन्दी दिवसका अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावास तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हिन्दी केन्द्रीय विभागद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा उक्त नाटक लोकार्पण गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले उक्त नाटक लोकार्पण गरेका थिए । उक्त अवसरमा कार्यबाहक राजदूत डा. अजय कुमारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएका थिए ।

साथै कार्यक्रममा युवा तथा नयाँ नेपाली कथाकारले लेखेका २५ आधुनिक नेपाली कथाहरूको अनुवादित संग्रह ‘उत्कृष्ट कहानियां’ को पनि लोकार्पण गरिएको थियो । ती कथाहरु बाह्रखरीले नेपालभर आयोजना गरेको कथा लेखन प्रतियोगीताबाट छानिएका थिए ।

यसैगरी हिन्दी केन्द्रीय विभागको शोध पत्रिका ‘साहित्यलोक’ को विशेषाङ्कको लोकार्पण गरिएको थियो । वी.पी. कोइराला नेपाल भारत फाउन्डेसन, भारतीय राजदूतावास काठमाडौंको सहयोगमा प्रकाशित २ हिन्दी तथा २ नेपाली पुस्तकको पनि सोही कार्यक्रममा लोकार्पण गरिएको थियो ।

पुस्तकमा हिन्दी केन्द्रीय विभागका विद्यार्थीद्वारा नेपालीमा अनुवाद गरिएका विश्व प्रसिद्ध हिन्दी कथाकार प्रेमचन्दद्वारा लिखित ५ प्रसिद्व कथाहरु एवं नेपालीमै अनुवाद गरिएको स्वामी विवेकानन्दको प्रसिद्ध पुस्तक ‘कर्मयोग’ समावेश छन् ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्, काठमाडौंका कलाकारले प्रख्यात हिन्दी कविका रचनाहरूको सांगीतिक प्रस्तुति पनि राखेका थिए ।