टिपरले किचेर एक युवकको हत्या गरिएको विरोधमा आन्दोलन चर्केपछि धनुषा तनावग्रस्त बनेको छ ।
अवैधरुपमा खोला उत्खननको विरोध गर्ने धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको टिपरले ठक्कर दिँदा मृत्यु भएपछि परिवारले हत्या गरेर टिपरले किचेको आरोप लगाएको छ ।
युवकको मृत्यु पछि शवको मुचुल्का नउठाउनु, शव रहेको गाडीमा आफूहरुलाई चढ्न नदिनु, मोडल हस्पिटल लैजाने भनेर प्रादेशिक अस्पताल ल्याउनु र गएको बुधबार मात्रै दिलीपका बुबा रामजीवन महतोलाई ठेकेदार विपीनकुमार महतो धम्क्याउँदै छोरालाई सम्झाइ दिनु नत्र कुनै दिन जिउमै टिपर चढाइ दिन्छु भन्दै धम्की दिनुले पनि यो हत्या गरीएको दिलीपका दाइ वीरेन्द्र महतो बताउछन् ।
दिलिपलाई किच्ने टिपर प्रहरी नियन्त्रणमा रहे पनि चालक फरार रहनुमा प्रहरीको पनि संलग्नता रहेको भन्दै स्थानीयले चक्का जाम गरेका छन् । तनाव उत्पन्न भएपछि प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरिसकेको छ ।
स्थानीय प्रत्यक्षदर्शीले लामो समयदेखि उत्खननको विरोध गर्दै आएका महतोको नियोजित रुपमा हत्या गरिएको बताएका छन् ।






