माघे संक्रान्तिमा सार्वजनिक बिदा, ढुंगेसाँघुमा मेलाको तयारी

माघ १ गते अर्थात् माघे संक्रान्तिका दिन गण्डकी सरकारले सार्वजनिक बिदा दिएको छ । मकर संक्रान्ति समेत भनिने यो दिनबाट सूर्य मकर राशिमा प्रवेश गर्छन् ।

माघे संक्रान्ति हिन्दु धर्माबलम्बीहरुले चाकु, सख्खरखण्ड, खुदो, तरुल लगायतका कन्दमुल खाएर मनाउने गर्छन् । यो पर्वमा देशका विभिन्न धार्मिकस्थलमा मेला लाग्छ ।

पोखरा १७ ढुंगासाँघुमा वर्षाैदेखि माघेसंक्रान्ति मेला लाग्ने गरेको छ । मेलामा कन्दमुलसँग घरायसी सामग्रीहरु डोको, नाम्लो, थुन्से, भकारी, आँसी, कोदालो, बाउसो लगायतका सामान किन्न सर्वसाधारण आउँछन् ।

माघे संक्रान्तिलाई थारुहरुले माघि पर्वको रुपमा मनाउँछन् भने मगर समुदायले पनि यो पर्व मनाउँछन् ।