‘पार्सल’ पठाएको भन्दै ठगी गर्ने २ विदेशीसहित ५ पक्राउ

सामाजिक सञ्जाल प्रयोग गरी वहुमूल्य पार्सल पठाएको भन्दै ठगी गरेको अभियोगमा २ विदेशीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फेसबुक, हवाट्सएप, भाइबर, इमोजस्ता सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको अभियोगमा १ नाइजेरिया नागरिक, १ आइभरीकोस्ट नागरिक र तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मुख्य अभियुक्त नाइजेरिया नागरिक सिरिल चिनोन्सो इबे, आइभरीकोष्ट नागरिक आसापे अड्जी पिरेजान, नेपाली नागरिक चितवनका रामचन्द्र गैरे, ठमेलका उमेश श्रेष्ठ, र चितवनकै हरि ओझा छन् ।

विदेशी नागरिकहरुको नाममा फेसबुक खोलेर नेपालका विभिन्न व्यक्तिहरुलाई साथी बनाएरपार्सल पठाई दिन्छु भन्दै इमेलमा फोटो पठाएर झुठो प्रलोभनमा पार्ने गरेको सीआईबीका प्रमुख निरज शाहीले जानकारी दिए ।

उनीहरूले सामाजिक सञ्जालका अतिरिक्त नेपाली मोबाइल नम्बरबाट फोन गरी तपाईंको नाममा पार्सल पठाएको र लिन शुल्क तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिबाट २० लाखभन्दा माथि ठगी गरेका पाइएको प्रमुख शाहीले बताएका छन् ।

समातिएका पाँचै जनाको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।