पोखरामा कति छ प्याजको मूल्य ?

केही समय अघि २ सय ८० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ। भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको हो।

पोखरामा भारतीय प्याज प्रतिकेजी १ सय ५० रुपैयाँ र थोक बजारमा १ सय ३० रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ।

भारतीय भन्दा चिनियाँ प्याज झनै सस्तो छ। औसतमा १ सय २० रुपैयाँ चिनियाँ प्याजको मूल्य कायम भएको छ।

यस्तै, थोक बजारमा चिनियाँ प्याजको औसत मूल्य १ सय १० रहेको छ। भारतीय बजारमा प्याजको मूल्य कम भएकाले त्यसको असर नेपाली बजारमा पनि देखिएको बताइन्छ ।

भारतीय बजारमा नयाँ प्याज आएपछि मूल्य घटेको हो । भारतले प्याजमा गरेको प्रतिबन्ध फुकुवा नगरे पनि केही खुकुलो भएको छ। त्यसैले उता मूल्य घटेपछि नेपाली बजारमा पनि मूल्य घटेको हो ।

भारतमा एक महिनाअघि मात्रै प्रतिकेजी १ सय ५० भारु रहेको प्याज अहिले ७० भारुमा झरेको छ।

एसियाकै सबभन्दा बढी प्याजको उत्पादन हुने नासिक, गुजरात तथा राजस्थानमा नयाँ प्याजको उत्पादन भएको छ।

भारतीय संचार माध्यमकाअनुसार यी ठाउँबाट प्याजको आपूर्ति दुई गुणासम्मले बढेको छ।

नासिकमा पछिल्लो केही दिनमा प्याजको मूल्य प्रति क्विन्टल ४ हजार भारुसम्म घटेको छ। संचार माध्यमहरूले थोक प्याजको मूल्य केही दिनमै ३० भारुसम्म पुग्नसक्ने बताएका छन्। मूल्य घट्ने शंकाले किसानहरू प्याज बेच्न हतार गरिरहेको बताइएको छ।